प्रदेश–१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त


१६ कार्तिक २०७८, मंगलवार
Rajendra Rai 1
फाइल फोटो

मोरङ, १६ कात्तिक । प्रदेश–१ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा शपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरे पनि आफू भने ३ बजे जाने राईले जानकारी दिए । प्रदेश–१ का एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।

सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।

यता कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् । जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निश्चित भएको गठबन्धन दलका एक नेताले बताए ।

यस्तै, एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश–१ मा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७