‘फेस रिकग्निसन सिस्टम’ बन्द गर्दै फेसबुक


१७ कार्तिक २०७८, बुधबार
face1635910397

काठमाडौं, १७ कात्तिक । फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग नगर्ने घोषणा गरेको हो ।

सरकारहरू, प्रहरी र अरुहरूले फेस रिकग्निसन सिस्टमको दुरुपयोग गरेको भन्ने बढ्दो चिन्ताका बीच यो प्रणालीलाई बन्द गर्ने घोषणा गरेको फेसबुकले १ अर्ब भन्दा धेरै मानिसको फेसप्रिन्ट डिलिट गर्ने (हटाउने) पनि बताएको छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे नियामक निकायहरूले स्पष्ट नियमहरू उपलब्ध नगराएको कम्पनीले बताएको छ । प्रयोगकर्ताहरूमाथि पार्ने प्रभावको बारेमा यसले भारी आलोचनाको सामना गरेको थियो ।

फेसबुकको नयाँ ब्राण्ड मेटाका आर्टिफिसियल इन्टेलिजेन्सीका उपाध्यक्ष जेरोमी पेसेन्टीले जारी अनिश्चितताबीच फेसियल रिकग्निसनलाई सीमित गर्ने विषय उपयुक्त भएको बताएका छन् । सन् २०१९ को अमेरिकी सरकारको एक अध्ययनले फेसियल रिकग्निसन अल्गोरिदम ककेसियन अनुहारको तुलनामा अफ्रिकन अमेरिकन र एसियन अनुहारहरू पहिचान गर्न एकदमै कम सही भएको देखाएको थियो ।

नेशनल इन्स्टिट्युट अफ स्ट्याण्डर्डस एण्ड टेक्नोलोजीले गरेको अध्ययनले अफ्रिकन अमेरिकन महिलाहरू गलत पहिचान हुने सम्भावना झनै बढी रहेको देखाएको थियो ।

फेसबुकले फोटो स्क्यान र ट्याग सम्बन्धी लामो समयदेखिको कानूनी विवाद गत साल समाधान गरेको थियो । फेसबुकको फेसियल रिकग्निसनले इलियन्स राज्यको गोपनीयता सम्बन्धी कानून उल्लङ्घन गरेको भनी त्यहाँका प्रयोगकर्ताहरूको एक समूहलाई ५५० मिलियन डलर तिर्न सहमत भएको थियो । अमेजन र माइक्रोसफ्ट लगायतका अरु प्रविधि फर्महरूले पनि यो प्रविधि विवादास्पद बनेपछि प्रहरीलाई बेच्न रोक्का गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७