चीनले हस्तान्तरण गर्‍यो थप १६ लाख मात्रा कोभिड खोप


१७ कार्तिक २०७८, बुधबार
korona khop china

काठमाडौं, १७ कात्तिक । छिमेकी देश चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख मात्रा (डोज) कोभिडविरुद्धको खोप हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।

उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए । चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन् । राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

स्वास्थ्यमन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्रीहरु पनि अनुदान सहायता स्वरुप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत १ करोड कोभिडविरुद्धको खोप ल्याइसकेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७