सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने


१८ कार्तिक २०७८, बिहीबार
saurya airlines

काठमाडौं, १८ कात्तिक । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।

एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो ।

यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन । यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलाइन्सका अध्यक्ष पोखरेलले जानकारी दिए । विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उनले बताए ।

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्षेनी पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौं भारतीय, भुटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौं पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाजबाट भैरहवा पुग्ने गरेका थिए ।

‘अब त्यो बाध्यता हट्यो, विदेशी पर्यटक र स्वदेशी यात्रुहरु सीधा उडानबाट भैरहवा पुग्न र त्यहाँबाट विराटनगर आउन सक्नुहुन्छ’, एयरलाइन्सका अध्यक्ष पोखरेलले भने, ‘यात्रु महानुभावको समय र लागत दुवै बचत हुन्छ ।’ विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट विमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ । धेरै उचाइबाट उड्ने भएको हुँदा जेट विमानको यात्रा सस्तो, छिटो र सुरक्षित हुने उनको दावी छ ।

कम्पनीले निकट भविष्यमा नेपालगञ्ज र राजविराज विमानस्थलमा समेत उडान थप्ने जनाएको छ । हाल एयरलाइन्ससँग ५० सिट क्षमताका तीन वटा जेट विमान छन् । तीमध्ये एउटा मर्मत सम्भारको अन्तिम चरणमा रहेको र दुई जहाज नियमित उडानको क्रममा रहेका छन् । एयरलायन्सले अहिले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दोहोरो उडान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७