जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल कारबाही गर्छौं : प्रचण्ड


१८ कार्तिक २०७८, बिहीबार
Prachanda 2

काठमाडौं, १८ कार्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनपक्षीय काम नगर्ने मन्त्रीलाई जुनसुकै पदको भए पनि पार्टीले तत्काल कारबाही गर्ने बताएका छन् ।

भक्तपुरमा आज (बिहीबार) आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट अगाडि बढेका छौं ।’
माओवादीबाट केन्द्र र प्रदेशका सरकारमा सहभागीलाई त्यस्तो जानकारी गराइएको पनि प्रचण्डले बताए । पार्टीबाट समावेशी रूपमा पठाइएका मन्त्रीहरूले काम दीर्घकालीन रूपमा अगाडि बढाएको पनि उनलको भनाइ थियो ।

तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगिएको दाहालको भनाइ थियो । ‘हिजो घोषणापत्र हामीले नै बनाएको हो । राम्रा–राम्रा कुरा छन् । तर लागू गर्ने बेलामा ठीक उल्टो गरे,’ उनले भने ।

केन्द्रदेखि प्रदेश सरकारसम्ममा माओवादीले समावेशी समानुपातिक रूपमा मन्त्री बनाएको पनि प्रचण्डले बताएका छन् । ‘केन्द्रमा सरकार बनाउँदा ६ जना मन्त्री हाम्रो भए । जसमा ३ महिला, ३ पुरुष, ५० प्रतिशत महिलालाई सहभागी गराइएको छ । यो सानो काम गरेको होइन ।

त्यसभित्र सहिदका छोराछोरी, आदिवासी, जनजाति, दलित, खसआर्य पनि देखिनुहुन्छ । समावेशी समानुपातिकताको यति राम्रो नमुना दिनसक्ने अरु कोही पार्टी छैन,’ उनले भने, ’प्रदेश २ मा दुई मन्त्री छन् । जसमा एक महिला र एक पुरुष । अन्य प्रदेशमा पनि दलित, आदिवासी, जनजातिबाट समावेशी समानुपातिक मान्यताबाट मन्त्री बनाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७