माओवादीलाई सिध्याउन नसकेपछि मलाई ‘टार्गेट’ बनाइरहेका छन् : प्रचण्ड


१८ कार्तिक २०७८, बिहीबार
Prachanda2021 09 30 07 21 48.2021 10 01 06 31 37

भक्तपुर, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

बिहीबार नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन् । पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा ‘स्टेप’ चाल्ने उनको भनाइ छ ।

‘‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको, पार्टीको भए पनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईंहरूको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौं’, उनले भने । अध्यक्ष प्रचण्डले देशी–विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदो रहुञ्जेल माओवादी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजिएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन् । देशी–विदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए तपाईंहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकी, पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड जिउँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ, फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन् । टार्गेट चाहिँ बनाउन खोजिएको छ ।’ केही समयपछि माओवादी एक नम्बरको पार्टी बन्ने विश्वास उनले व्यक्त गरे । माओवादी बलियो पार्टी नभए राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७