राष्ट्रपति कार्यालयको आँगनमा देउसी–भैलो


१८ कार्तिक २०७८, बिहीबार
deusi

काठमाडौं, १८ कार्तिक । राष्ट्रपति कार्यालय शीतलनिवासको प्रांगणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसी भैलो प्रस्तुत गरेका छन् ।

\राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिना जस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसी भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरिन् । उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्‍याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन् । उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन् ।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्‍याउन सक्ने बताइन् । राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७