‘गोर्खा वारियर–२’ का लागि ३४ कलाकार चयन


१९ कार्तिक २०७८, शुक्रबार
Capture 3

काठमाडौं, १९ कात्तिक । ‘गोर्खा वारियर–२’ का लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाका लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सय भन्दा बढी व्यक्तिबाट ३४ जना चयन भएका हुन् ।

यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो । छानिएकामध्ये अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।
यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यसअघि रोकिएको थियो ।

z

अब बाँकी छायाँकन तिहारको सकिए लगत्तै सिन्धुलीदेखि शुरु हुने निर्माता निर्देशक मिलन चाम्सले जानकारी दिए । त्यसपछि बाँकी छायाँकनका लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेशियालगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चाम्सले जानकारी दिए ।

यो चलचित्र छायाँकनका लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री दशैं अघि नै नेपाल आईसकेको छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् ।

गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नव नायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दैछन् । यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ ।

चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफूले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुनेछ । यो चलचित्रलाई सन् २०२२ मै रिलिज गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७