भाइटीकाको दिन पनि रोकिएन वागमती सफाइ


२० कार्तिक २०७८, शनिबार
bagmati cleaning

काठमाडौं, २० कात्तिक । तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३ औं हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा. माला खरेलले जानकारी दिए ।

सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्य सचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।

महाअभियान सुरु भएपछि काठमाडौं उपत्यकामा वागमतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौं उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वागमतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको वागमती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौं उपत्यका बाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रूपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७