अफगानिस्तानमा यस्तासम्म पीडाहरु भोग्दैछन् छोरीहरू


२१ कार्तिक २०७८, आईतवार
Afagan1636254684

काबुल, २१ कात्तिक । काला आँखा र गुलाफी गाला भएकी ९ वर्षीय पर्वाना मलिक साथीहरूसँग धुलाम्य मैदानमा डोरी नाघ्ने खेल्दा खितखिताउँछिन् । तर जब उनी घर फर्किन्छिन्, उनको हाँसो हराउँछ । माटोको पर्खालले बनेको सानो झुपडीमा आफ्नो भाग्य सम्झिन्छिन्– उनी बच्ची बेहुलीको रूपमा बिरानो व्यक्तिसँग बेचिँदैछिन् ।

उनलाई खरिद गर्न चाहेको पुरुष आफू ५५ वर्ष भएको बताउँछन्, तर पर्वानाको लागि ऊ सेता आँखीभौ र झुप्प दाहृी भएको ‘एक बूढो मानिस’ हो । पर्वानालाई उसले उसको घरमा कुट्नेछ र जबरजस्ती काममा लगाउनेछ भन्ने चिन्ता छ । तर उनका आमा–बाले यसबाहेक आफूहरूसँग कुनै विकल्प नभएको बताउँछन् । उनको परिवार मानवीय सहायता र दिनको केही डलर कमाइ हुने ज्यालादारी काम गर्दै चार वर्ष अफगानिस्तानको उत्तरपश्चिम बागिस प्रान्तमा विस्थापितहरूका लागि बनाइएको शिविरमा बसे । तर, तालिबानले अगस्ट १५ मा अफगानिस्तानको सत्ता हातमा लिएपछि मात्र उनीहरू जीवन कठिन बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय सहायता रोकिएको र देशको अर्थतन्त्र ध्वस्त भएकाले उनीहरू खानेकुरा जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न असमर्थ छन् । उनको बुबाले उनकी १२ वर्षीया दिदीलाई धेरै महिनाअघि नै बेचिसकेका छन् । देशको मानवीय संकट गहिरिएपछि विवाहका लागि बेचिने धेरै अफगान बालिकाहरूमध्ये पर्वाना एक हुन् । विशेष गरी क्रुर जाडो याम सुरु भएसँगै भोकले केही परिवारहरूलाई मुुटु धुजाधुजा हुने हृदयविदारक निर्णय गर्न बाध्य बनाएको छ ।

अभिभावकहरूले आफ्ना बालबच्चासँग कुराकानी गर्न र उनीहरूको अनुहार देखाउन पहुँच र अनुमति दिए । किनभने, उनीहरू भन्छन् यो प्रचलनलाई उनीहरू आफैले परिवर्तन गर्न सक्दैनन् । ‘आफ्नो बालबच्चा बेच्नेको संख्या दिनदिनै बढिरहेको छ’, बागिसका मानवअधिकारकर्मी मोहम्मद नाइम नाजीमले भने । ‘खाना र कामको अभावमा ती परिवारहरूले यो काम गर्नैपर्ने ठान्छन् ।’

एक असम्भव छनोट
पर्वानाका पिता अब्दुल मलिक रातमा निदाउन सक्दैनन् । अपराधवोध, लाज र चिन्ताले उनी ‘टुक्रिएका’ छन् । उनले आफ्नो छोरी पर्वानालाई नबेच्न सक्दो कोसिस गरे । उनी काम खोज्न प्रान्तीय राजधानी क्वाला–इ–नो मा गए । तर काम पाउन सकेनन् । उनले आफन्तबाट थुप्रै पैसा पनि लिए । उनको श्रीमती अरू शिविरवासीसँग खानको लागि भीख माग्न बाध्य भइन् । तर, उनले आफ्नो परिवारलाई खुवाउन कुनै विकल्प नभएको महसुस गरे ।

‘हाम्रो परिवारमा आठ जना छौं’, उनले भने । ‘परिवारका अरु सदस्यहरूलाई बचाउन मैले उनलाई बेच्नै पर्छ ।’ पर्वानालाइ बिक्री गरेर आएको पैसाले परिवारलाई केही महिना मात्र थेग्नेछ, त्यसअघि मलिकले अर्को समाधान खोज्नै पर्छ, उनले भने । पर्वानालाई उनको आमाबाबाको सोचाइ परिवर्तन हुन्छ भन्ने आशा थियो । उनले शिक्षक बन्ने सपना देखेकी थिइन् । उनी आफ्नो पढाइ छोड्न चाहन्नथिन् । तर उनको अनुनय विनय निरर्थक भए ।

अक्टोबर २४ मा एउटा मात्र नाम भएका कोर्बान उनको घरमा आए र भेडा, जमीन र नगद गरी २ लाख अफगानिस (झण्डै २२ सय डलर) पर्वानाको बुबालाई दिए । कोर्बानले आफूसँग पहिल्यै श्रीमति भएको र उनले आफ्नै केटाकेटीलाई जसरी पर्वानाको हेरविचार गर्ने भन्दै यो बिक्रीलाई विवाहको रूपमा वर्णन गरेनन् ।

‘(पर्वाना) सस्तो थिइन् । उनका बुबा धेरै गरिब थिए । र उनलाई पैसा चाहिएको थियो’, कोर्बानले भने । ‘उनले मेरो घरमा काम गर्नेछिन् । मैले उनलाई पिट्ने छैन । मैले उनलाई परिवारको सदस्यलाई जस्तै व्यवहार गर्नेछु । म दयालु हुनेछु ।’ पर्वानाले टाउको ढाक्नेगरी कालो परिरहन लगाएकी थिइन् । उनको गलामा रंगीन फूलका माला थिए । उनले अनुहार लुकाएकी थिइन् । र उनको बुवाले रूँदैरूँदै दर्दनाक बोलीमा कोर्बानलाई भने, ‘यो तपाईंकी दुलही हो । यसको ख्याल गर्नु । अब यसको जिम्मेवार तपाई हो । बिन्ती, उसलाई नपिट्नु ।’

कोर्बान राजी भए । त्यसपछि पर्वानाको पाखुरामा समाए र उनलाई ढोकातर्फ लगे । उनीहरू जाँदै गर्दा उनको बुबाले ढोकातिर हेरिरहे । पर्वानाले भूँइमा दह्रोसँग खुट्टा टेकेर फर्कन खोजिन् । तर यसको के नै अर्थ थियो र ? कुनै अर्थ थिएन । उनलाई पर्खिरहेको कारमा लतारियो, जुन विस्तारै प्रस्थान गर्‍यो ।

पूरै विपत्तिजनक
तालिबानले सत्ता कब्जा गरेयता पर्वानाको जस्ता कथाहरू बढिरहेका छन् । १५ वर्ष भन्दा मुनिका बालबालिकाको विवाह देशव्यापी रूपमा गैरकानूनी भए पनि विशेष गरी अफगानिस्तानको ग्रामीण क्षेत्रहरूमा वषौँदेखि यो सामान्य रूपमा यो अभ्यास गरिँदै आइएको छ । व्यापक भोकमरी र उदासीनताको कारण अगस्ट यता केवल फैलिएको मात्रै हो ।

संयुक्त राष्ट्रसंघको हालै सार्वजनकि एक प्रतिवेदन अनुसार आधा भन्दा धेरै जनसंख्याले अत्यधिक खाद्य असुरक्षा भोगिरहेको छ । र पाँच वर्ष मुनिका ३० लाख भन्दा बढी बालबालिकाले आगामी महिनाहरूमा कडा कुपोषणको सामना गर्दैछन् । यसैबेला खानेकुराको मूल्य आकाशीएको छ, बैंकमा पैसा सकिदैछ, कामदारहरू बेतलवी बन्दै छन् ।

यूएन अफिस फर द काअर्डिनेशन अफ ह्युमनीटेरियन अफेयर्स (यूएनओसीएचए) का अनुसार लडाइका कारण यस वर्ष झण्डै ६ लाख ७७ हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूमध्ये धेरै पर्वानाको परिवार जस्तै विस्थापित शिविरका पालमुनि र झुपडीमा बसिरहेका छन् । ‘यो बिल्कुल विपत्तिजकन छ’, ह्युमन राइट्स वाचका महिला अधिकार विभागका सह निर्देशक हीदर बारले भने । ‘यो संकट पार लगाउन हामीसँग महिना वा हप्ता छैन । हामी अहिले नै आपतमा छौं ।’

विशेष गरी अफगान बालिकाहरूलाई यो सस्मस्या ज्यादा छ । तालिबानले सत्ता कब्जा गरेपछि उनीहरू घरमै बसेका छन् र आफ्ना दाजुभाईहरू माध्यामिक विद्यालय फर्किएको हेरेका छन् । तालिबानले बालिकाहरूलाई विद्यालय फर्कन अनुमति दिने योजनामा काम गरिरहेको बताएको छ । तर यो कहिले हुन्छ अथवा के कस्ता सर्तहरू लागू गरिनेछ भन्नेबारे केही बताएको छैन । बढ्दो गरिबीसँगैको अनिश्चितताले धेरै बालिकाहरूलाई विवाह बजारमा धकेलेको छ ।

‘जहाँसम्म एउटी बालिका विद्यालयमा हुन्छिन्, उनको परिवारले उनको भविष्यको लागि लगानी गर्छन्’, ह्युमन राइट्स वाचका बारले भने । ‘एउटी बालिका शिक्षाबाट बाहिर आउनु भनेको त्यसलगत्तै विवाह गर्नु जानु जस्तै हो ।’ र, एउटी केटी एक पटक बेहुलीको रूपमा बिक्री भएपछि उनले पढाइलाई निरन्तरता दिने अथवा स्वतन्त्र बाटोमा लाग्ने उनको सम्भावना शुन्य बराबर हुन्छ ।

बदलामा उनले अझै अँध्यारो भविष्यको सामना गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए) का अनुसार गर्भनिरोधक वा प्रजनन् स्वास्थ्य सेवामा पहुँच नहुँदा १५ देखि १९ वर्षका करिब १० प्रतिशत केटीहरूले प्रत्येक वर्ष बच्चा जन्माउँछन् । यौनका लागि मन्जूरी दिन धेरैजसो केटीहरू धेरै कलिला छन्, समर्थ छैनन् । विकसित भइ नसकेको उनीहरूको शरिरले बच्चा जन्माउँदा धेरै जटिलता देखा पर्छन् । युएनएफपीएका अनुसार १५ देखि १९ वर्षका केटीहरूको गर्भावस्था सम्बन्धी मृत्युदर २० देखि २४ वर्ष उमेर समूहको भन्दा दोब्बर धेरै छ ।

‘म मेरो अभिभावकहरू छोड्न चाहन्न’
परिवारको ऋण तिर्न उनलाई ७० वर्षीय बुढोलाई बेच्न लागेकाले दश वर्षीय बालिका मगुल हर दिन रोइरहन्छिन् । उनी बागिसको छिमेकी गोर प्रान्तकी हुन् । उनको आमाबाले छिमेकीबाट दुई लाख अफगानिस (२२ सय डलर) लिएका थिए । तर कुनै काम अथवा बचत नहुँदा उनीहरूसँग पैसा फिर्ता गर्ने कुनै उपाय भएन ।

खरिदकर्ताले मगुलको बुबा इब्राहिमलाई ऋण नतिरे तालिबानको जेलमा कोच्ने धम्की दिए । एउटा नाम मात्र बताउन चाहने इब्राहिमले एक महिनामा चुक्ता गर्ने वाचा गरे । तर, अहिले त्यो भाका सकियो । ‘के गर्ने मलाई केही थाहा छैन’, इब्राहिमले भने । ‘मैले मेरी छोरीहरू दिएन भने पनि उसले लानेछ ।’

मगुलको आमा गुल अफ्रोज निःसहाय महसुस गर्छिन् । ‘यी खराब दिनहरू बितिजाउन् भनी भगवानसँग प्राथना गरिरहेकी छु’, उनले भनिन् । कोर्बानले जस्तै मगुलको खरिदकर्ताले पनि उनलाई दुव्र्यवहार नगर्ने र उनले सामान्यतः खाना पकाउन र सरसफाइ गर्न सघाउनुपर्ने दाबी गरे । तर, उसले मगुलको परिवारलाई दिएको धम्कीको अगाडी उसको वाचा कृत्रिम÷कपटी लाग्छ । ‘मैले उसलाई पटक्कै चाहदिन । यदि उनीहरू (बाबा आमा) ले मलाई पठाए, आत्महत्या गर्नेछु’ भूँइमा बसेकी मगुलले सुकसुकाउँदै भनिन् । ‘मेरा आमा बालाई छोड्न चाहन्न ।’

चार र नौ वर्षीया छोरीहरू बेच्दै गरेको गोर प्रान्तको नौ सदस्यीय एक परिवारको अवस्था पनि उस्तै छ । अधिकांश विस्थापित शिविरका बुबाहरू जस्तै उनको बुबासँग पनि कुनै पेशा छैन । तर उनको बुबा अपाङ्गता भएकाले झनै कठोर कठिनाइहरू भोग्दैछन् । उनले आफ्ना छोरीहरूलाई १ लाख अफगानिस (झण्डै ११ सय डलर) का दरले बेच्ने तयारी गर्दैछन् । प्वाँखजस्तै फिजारिएको खैरो कपाल, ठूलाठूला खैरा आँखा भएकी चार वर्षीय जैटोनलाई यो किन हुन गइरहेको छ भन्ने थाहा छ : ‘किनभने हामी गरिब परिवारका हौं र हामीसँग खानेकुरा छैन ।’ उनीहरूकी बज्यै रोख्शाना चिन्तित छन् ।

‘यदि हामीसँग खानेकुरा भएको भए र कसैले सहयोग गरेको भए हामीले यो कहिल्यै गर्ने थिएनौं’, रोख्शानाले आँखाभरी आँशु पार्दै भनिन् । ‘हामीसँग कुनै बाटो छैन ।’ बागिसका स्थानीय तालिबान नेताहरूले आफ्ना छोरीहरू बेच्नबाट परिवारहरूलाई रोक्न खानेकुरा वितरण गर्ने योजना बताएको बताउँछन् । ‘हामीले यो योजना कार्यान्वयन गरेपछि पनि उनीहरूले आफ्ना बालबच्चा बेच्न जारी राखे भने उनीहरूलाई जेल हाल्छौं’, तालिबानको न्याय विभागका प्रवक्ता मौलवी जलालुद्दीनले थप वर्णन बिना भने ।

तर यो समस्या बागिसमा मात्र सीमित छैन । यसबाहिर पनि फैलिएको छ । र जाडोयाम आएसँगै बढिरहेको बालविवाह रोक्न सकिने आशा गर्दै तालिबान र मानवीय समूहहरूले थप सहायताको लागि आग्रह गरिरहेका छन् । अमेरिका र उसको साझेदारहरू फिर्ता भएपछि तालिबानले तीव्र रूपमा अफगानिस्तान कब्जा गर्‍यो । त्यसपछि अन्तर्राष्ट्रिय समुदायले विकास सहायता रोकेका छन् । पैसा नुहँदा देशको अर्थतन्त्र र महत्वपूर्ण सेवाहरूमा असर पुगेको छ ।

देशहरू र बहुपक्षीय संस्थाहरू तालिबानलाई अफगानिस्तानको नेताको रूपमा वैधता दिएको मानिने डरले आफ्ना वाचाहरू नवीकरण गर्न आनाकानी गरिरहेका छन् । देशको अर्थतन्त्र पतनको नजिक पुगेका बेला संयुक्त राष्ट्रसंघका दाताहरूले १ अर्ब डलर मानवीय सहायताको प्रतिवद्धता जनाएका छन् । जसमध्ये ६० करोड ६० लाख डलरले अफगानिस्तानको अति जरुरी आवश्यकता पूरा गर्न सक्छ । तर यूएनओसीएचएका एक प्रवक्ताका अनुसार प्रतिवद्धता गरिएकोमध्ये आधा भन्दा थोरै रकम मात्र प्राप्त भएको, केही सदस्य राष्ट्रहरूले अहिले सम्म सहायता रकम दिएका छैनन् ।

थुप्रै परिवार र विज्ञहरूले देशको भयानक अवस्थामा भएको सहायता अभावप्रति निराशा व्यक्त गरेका छन् । यूएनओसीएचएका कार्यालय प्रमुख इजावेल मौसार्द कार्लसेनले मानवीय सहायताकर्मीले अझै पनि राहत प्रदान गरिरहेको र अस्पताललाई सहयोग गरिहेकोमा जोड दिँदै यो पर्याप्त नभएको बताए ।

‘तालिबान सरकारबाट रोक्का गरेका (विकास) कोषहरू फुक्का नगरेकाले यो जोखिमयुक्त छ, यहाँ गरिबी छ, यसले कलिला बालिकाहरू ग्रसित भइरहेका छन्’, कार्लसेनले भने । बार र कार्लसेन विश्व नेताहरूले मानव अधिकार उल्लङ्घनका घटनामा तालिबानलाई उत्तरदायि बनाउनुपर्ने आवश्यकता स्वीकार गर्छन् । तर, विकास सहायताबिता धेरै परिवारहरूले भोकमरीबाट मृत्युको सामना गर्ने र धेरै बालिकाहरू बेचिने सम्भावना रहेको चेतावनी दिएका छन् ।

तालिबानले पनि सहायताको लागि अपील गरेको छ । ‘तालिबानले सहायता नियोगहरूलाई अफगानिस्तान आउन र यी मानिसहरूलाई सहयोग गर्न आग्रह गरिरहेको छ’, गोर प्रान्तका आन्तरिक विस्थापन शिविरका एक तालिबान निर्देशकले भने । ‘मैले अन्तर्राष्ट्रिय समुदाय र सहायता नियोगहरूलाई हिउँद सुरु हुनुअघि नै आउन र सहयोग गर्न अनुरोध गरिरहेको छु । कृपया आउनुहोस् र सहयोग गर्नुहोस् ।’

बागिस प्रान्तको अफगान विस्थापिन शिविरमा फर्कदा, उनको छोरीको लागि बिक्रीको अर्थ के हो भन्नेमा मलिकलाई कुनै भ्रम छैन । अथवा उनको परिवारको भविष्यका लागि कठोर अवस्था हो भन्ने भन्नेमा उनलाई कुनै भ्रम छैन । कोर्बानले उनको छोरीलाई दुलहीको रूपमा नभइ कामदारको रूपमा काम लगाउने बताएका छन्, तर मलिकलाई थाहा छ अब छोरीमाथि के हुन्छ भन्ने कुरा उनको नियन्त्रणमा छैन ।

‘त्यो बुढो मान्छेले मैले यो केटीको लागि पैसा तिरेको छु भन्यो । यो केटीसँग मैले के गर्छु भन्ने तिम्रो विषय होइन, त्यो मेरो कुरा हो’, मलिकले भने । अगाडिका धुमिला दिनहरूको बारेमा सोच्दा यो अशुभ चेतावनीले मलिकलाई गह्रौगरी थिचेको छ । चीसो आउँदैछ । देशका केही भागहरूमा हिउँले ढाक्न सुरु गरिसक्यो । पर्वानालाई बेचेको पैसा सकिएपछि उनी पहिलेकै अवस्थामा फर्किनेछन् । घरमा सहयोग गर्न उनीसँग अझै तीन छोरीहरू र एक छोरा छन् । ‘मैले देख्न सकेअनुसार हाम्रो भविष्य छैन । हाम्रो भविष्य ध्वस्त पारिएको छ’, उनले भने, ‘यदि मेरो आर्थिक अवस्था सुध्रिएन भने मैले अर्की छोरी बेच्नुपर्ने हुन्छ । सम्भवत दुई वर्षीया छोरी ।’ सीएनएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७