बागमती प्रदेश : भोलि विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी


२१ कार्तिक २०७८, आईतवार
rajendra pandey

हेटौंडा, २१ कात्तिक । बागमती प्रदेशसभाको बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ ।

बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

सभामुखसहित प्रदेशसभामा १०९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरिरहेका हुन् ।

माओवादी र कांग्रेसले चार–चार मन्त्रालय र एक–एक राज्यमन्त्री मागेका छन् । पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल कँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बनेका छन् । प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्‍याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७