आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु


२२ कार्तिक २०७८, सोमबार
chhat

काठमाडौं, २२ कात्तिक । कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदैछ । सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन चोख्याउने गरेसँगै छठ सुरु हुन्छ । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको संस्कृतविद् रामभरोस काप्रीले बताए ।

परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको उनको भनाइ छ ।

तराई होस् या पहाड सबै क्षेत्रमा छठ पर्वको महत्व उत्तिकै बढेको छ । सूर्य देवताको उपसना गरी मनाइने छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजा सामग्री तयार पारिने भएकाले यो सबैको पर्व हुन गएको उनको अनुभव छ । सोमबार कात्तिक चौथीमा नयाँखाय गरेर चोखिने र दोस्रो दिन कात्तिक पञ्चमीका दिन (मंगलबार) खरना पूजा गरिनेछ भने पूजाको मुख्य दिन साँझियाँ घाट बुधबार मनाइँदैछ ।

धार्मिक मान्यताअनुसार खरनाकै दिन छठ पूजाको पहिलो दिन भएको उनले जानकारी दिए । साँझियाँ घाट कात्तिक शुक्ल षष्ठीमा मनाइन्छ । साँझियाँ घाटको पूजामा व्रतालुहरू तयार पारिएको पूजा सामग्री डालोमा राखेर परिवारको सबै सदस्यसहित नदी, तलाउ, पोखरीलगायत स्थानमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजनकीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने गरिन्छ ।

छठ पूजामा मुख्यतया ठेकुवा,पुरी, कसार,ऋतुअनुसारको फलफूल, उखु, केराउ, चामललगायत सामग्री आवश्यक हुन्छ । शुद्धता तथा पवित्रताको पर्व छठ पूजामा साँझियाँ घाटका दिन नदी किनारमै सिरसिता देवीको आकृति बनाएर पूजा गरी भजनकीर्तन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई जलाशयमा अघ्र्य दिएर फर्कने गर्छन् । ‘हाम्रा ऋषिमुनिहरूले त्यतिखेर प्रत्यक्ष देखिने र अनुभव गर्न सकिने सूर्य देवको पूजाअर्चना गरि लोक व्यवहार र लोक पद्धतिबाट छठ पूजा गर्ने गरेको ग्रन्थहरूमा उल्लेख छ,’ संस्कृतविद् काप्रीले भने, ‘यो पर्व पूर्ण रूपमा कृषिमा आधारित पनि हो । किनभने यस पर्वमा कात्तिक महिनाभरि फल्ने फलफूल, खाद्यान्नलगायत सबै अनाज तथा सिजनल उत्पादिन सामग्री भगवान सूर्यलाई अर्पण गरी षष्ठीमा अस्ताउँदो र सप्तमीमा उदाउदो सूर्यको अघ्र्य दिएर पूजा सम्पन्न हुन्छ ।’

उनले थपे, ‘चार दिनको लामो पूजा सम्पन्न गरेपछि मात्र व्रतालुहरूले नुनसहितको खाना खान्छन् ।’ यो वर्षको भोरवा घाट अर्थात् सप्तमी बिहीबार परेको छ । ‘हाम्रो जनकपुरमा पनि अहिले मधेसी, पहाडी र मुस्लिम समुदायले समेत यो पर्वको महत्व बुझेर व्रत बस्ने गरेको मैले देखे ।’ छठ ब्रतालु राधा रौनियारका अनुसार छठमा आवश्यक पर्ने बासले बनेको डालो र सुपलि डोम समुदायले नै तयार पारेका हुन्छन् । फलफूल मुस्लिम समुदायले बिक्री वितरण गर्ने गरेका छन् । राधा लामो समयदेखि परिवारको सुखसमृद्धिका लागि आफैं छठको व्रत बस्दै आएकी छन् ।

‘म परिवारको स्वास्थ्य , समृद्धि र पुण्य आर्जनकोलागि छठ व्रत बस्दै आएको छु,’ राधाले भनिन्, ‘गएका दुई वर्ष भने कोरोका कारण त्यति उल्लास भएन । तर, यो वर्ष हामी खुलेर नदी किनारमै पुगेर सपरिवार छठ पूजा गर्न पाइने भएपछि मनमा खुसी मिलेको छ । खरनाको दिन नै छठी माताको पहिलो पूजा हो ।’ सोमबारका लागि शुद्ध खाना तयारीका लागि बजारमा लौका र चनाको दाल किन्दै उनले उनले थपिन्, ‘पवित्रता र एकताको पर्व नै छठ हो । यो पर्व सबै जाति र समुदायले मनाउने गरेको मैले पाएको छु ।’

कालीमाटीमा आइतबार छठ पूजाको सामग्री किन्न पतिका साथ आएकी मीना देवीले पहिलो छोरो पाएदेखि नै व्रत बस्दै आएको बताइन् । घरमा सासूले छठ गर्दै आएको र आफू बुहारी भएर भित्रिएपछि पहिलो छोरो पाएलगत्तै छठ व्रत बस्दै आएको उनले सुनाइन् ।
‘पूजा सामग्री डोम, मुस्लिम र बाहुन समुदायले बिक्री गरिरहेका छन् । मैले पनि उनीहरूबाटै किने’, मीनाले भनिन्, ‘त्यही भएर यो सबै जाति र समुदायको पर्व भएको महसुस भयो ।’ उनले थपिन्, ‘मेरो एक मुस्लिम महिला साथीले मलाई हरेक वर्ष अघ्र्यका लागि पूजा समाग्री दिने गर्न ुभएको छ ।’

कात्तिक चौथीको दिनमा व्रतालुहरू नुहाएर शुद्ध भई चोखो खानेकुरा खान्छन् । पञ्चमीमा खरनाको दिन भोको बसेर साँझ सूर्याअस्त भएपछि परिवारजन मिलेर पूजाकोठामा माटोको चुलोमा चोखो गहुँको पिठोको सुक्खा रोटी पकाउँछन् । साथै दूध नहालेको चामल, पानी र सखरको रसिआव पकाइन्छ ।

यस दिन रसिआव रोटी तथा ऋतुअनुसारको फलफूल चढाएर छठी माताको भजन गाएर व्रतालुले खरना पूजा हुन्छ । पूजापछि परिवारका सदस्यहरूले प्रसाद खाएर खरना पूजा सम्पन्न गर्छन् । षष्ठीको दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्छन् । सप्तमीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र पूजा सम्पन्न हुन्छ । ‘अमेरिका, रुस, जापान, क्यानडा, बेलायत, भारत, अस्ट्रेलियालगायत देशमा समेत छठ पर्व उल्लासका साथ मनाउने गरेको मैले पाएको छु,’ संस्कृविद् काप्रीले भने, ‘आस्था र विश्वासका साथ छठ पूजा मनाउने समुदाय अहिले विश्वभरि नै छन् ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७