राष्ट्र बैंककी सहायक निर्देशक कृतिको कोरोनाबाट निधन


२२ कार्तिक २०७८, सोमबार

काठमाडौं, २२ कात्तिक । राष्ट्र बैंककी सहायक निर्देशक कृति थापा (राजभण्डारी) को कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
उनी नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापाकी छोरी हुन् । पत्नी गुमाएको १२ दिनमा कुमारलाई पुत्रीशोक थपिएको छ ।

राष्ट्र बैंकमा कार्यरत ३० वर्षीया कृति थापा राजभण्डारीको यही कात्तिक १५ गते उपचारका क्रममा निधन भएको एमाले जिल्ला सचिवालय सदस्य नारायण भट्टराईले जानकारी दिएका छन् । यही कात्तिक ४ गते थापाकी ४२ वर्षीया पत्नी खुमा बुढामगरको निधन भएको थियो ।
खुमा कृतिकी कान्छी आमा हुन् । जेठी श्रीमती अञ्जुको २०६६ सालमा निधन भएपछि केही वर्ष अघि मात्रै थापाले खुमासँग विवाह गरेका थिए । हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिनाअघि मात्रै विवाह भएको थियो । रवीन्द्र यसै साता ब्राजिल जाने तयारीमा थिए ।

आठ महिनाकी गर्भवती कृतिलाई चिकित्सकले मंसिरमा प्रसुतीको मिति दिएका थिए । खोकी बढ्दै गएपछि उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।

कोरोना पोजेटिभ देखिनुका साथै मुटुमा पनि समस्या भएपछि कात्तिक ८ गते कृतिलाई टिचिङ अस्पताल लगेर अप्रेसन गरेर बच्चा निकालिएको थियो । बच्चा निकालेपछि भेन्टिलेटरमा रहेकी उनको एक हप्तामा मृत्यु भएको हो । कृतिको १२ वर्ष पहिले मुटुको अप्रेसन गरी भल्ब फेरिएको थियो । मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए । त्यसमध्ये अहिले एउटा भल्बमा समस्या आएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

यता आमाको किरिया बस्ने क्रममै मुटुमा समस्या देखिएपछि कुमार थापाका जेठा छोरा २७ वर्षीय केशन थापा पनि अस्पताल भर्ना भएका छन् । गंगालाल हृदययरोग केन्द्रमा उपचाररत केशनलाई मुटुको भल्व फेर्न चिकित्सकले सुझाब दिएका छन् । १२ वर्षको उमेरमा उनको मुटुको भल्बमा प्वाल देखिएपछि लेजरथेरापी गरिएको थियो । भल्ब फेर्नको लागि अब केही दिनभित्रै अप्रेसन गर्ने तयारी भइरहेको परिवारक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७