गृहमन्त्रीको हस्तक्षेपले दुबै प्रहरी संगठन अस्त–व्यस्त, नियमित भन्दा काज सरुवामा ध्यान


२२ कार्तिक २०७८, सोमबार
Balkrishna khad 1

काठमाडौं, २२ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणको हस्तक्षेपका कारण दुवै प्रहरीमा नियमित भन्दा काज सरुवा हुन थालेको छ । गृहमन्त्रीको ठाडो हस्तक्षेपका कारण दुवै प्रहरी संगठनले नियमित सरुवा निकाल्न सकेका छैनन । यो समस्या नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा देखिएको छ । गृहमन्त्री खाँण र बूढानिलकण्ठसँग सिधा सम्पर्क हुने प्रहरी अधिकारीहरु आकर्षक स्थानमा काज सरुवा लिएर धमाधम जान थालेका छन् ।

दुई हप्ताअघि सर्लाही र धनुषाका एसपीका बाध्यतावस् काज सरुवा गरियो । धनुषामा काविल अफिसर गए पनि सर्लाहीमा भने विवादित पात्र पठाइए । त्यसैगरी काठमाडौको दरबारमार्ग वृत्त र इप्रका बुटवलका इञ्चार्ज फेरिए । यी सबै कार्यालयमा इञ्चार्जका लागि ठूलो ‘लबिङ’ हुने गर्छ । गृहमन्त्रीको ठाडो आदेशबाट दरवारमार्ग वृत्त र इप्रका बुटवलमा काज सरुवा गरियो । त्यहाँ विवादास्पद डिएसपीको सरुवा भयो ।

सर्लाहीमा एसपी कृष्ण प्रसाईलाई पठाइयो । डिएसपीमा हुँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको थियो । त्यस्तै दरबारमार्ग वृत्तमा अर्का विवादास्पद डिएसपी विश्वराज खड्कालाई पठाइएको छ । डिएसपी खड्का यसअघि पटक–पटक कारबाहीमा परेका थिए । इप्रका गजुरीमा हुँदा पनि आर्थिक लेनदेनका कारण उनलाई हटाइएको थियो ।

त्यतिबेला कारबाहीस्वरुप आफैंले हटाएका डिएसपीलाई अहिले दरबारमार्ग वृत्तमा पठाएर प्रहरी महानिरीक्षक शैलेश थापा आलोचित बनेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका खड्का सधै कांग्रेस सरकार हुँदा आकर्षक स्थानमा ‘पोष्टिङ’ पाउने भाग्यमानी प्रहरी अधिकृत हुन् ।

राअविका एसपीकै निर्देशनमा रौतहटका पत्रकारलाई लागुऔषध राखेर मुद्दा चलाएकै आधारमा प्रहरी प्रधान कार्यालयले कारवाही गरिरहेका बेला खड्कालाई दरवारमार्ग पठाइएको हो । प्रहरीभित्र राअविबाट प्रहरीमा आएका अधिकृतहरु निकै बद्नाम रहेका छन् । तर गृहमन्त्री खाँणले यो विषयलाई ध्यान नदिई बारम्बार विवादास्पद अधिकृतहरुको सरुवा गरिरहेका छन् । बुटवल इप्रकामा ठगबहादुर केसीलाई जिम्मा दिइएको छ । उनी पनि आर्थिक रुपमा विवादित डिएसपी हुन् ।

गत साउनमा गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा सशस्त्र प्रहरीका एक इन्सपेक्टरको एकल काज सरुवा भएको थियो । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएको हो । डण्डा विओपी आकर्षक विओपी हो । जहाँ जान सशस्त्र प्रहरीभित्र लाखौंको मोलमोलाई हुने गरेको छ । प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, उपनियम (१) मै सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको भए पनि गृहमन्त्रीको ठाडो आदेशमा काज सरुवा हावी हुन थालेको छ ।

प्रहरी अधिकारीहरु आफै शक्ति केन्द्रसँग पहुँच भएकाले उनीहरुले चोरबाटोबाटै पोष्टिङ लिने गरेका छन् । शक्तिको पहँुचमा भएका अधिकृत जतिले आकर्षक पोस्टिङमा हात पार्छन् । तर, अप्ठ्यारो परिस्थितिमा संगठनले खटाएको ठाउँमा जान उनीहरु तयार हुँदैनन । अनुशासनका लागि नमुना मानिने सुरक्षा फौजमा संगठनले खटाएको ठाउँमा अधिकृत जाँदैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्ला ! तर, वास्तविकता यही हो । राजनीतिक दलका नेताको टेको लिएपछि अधिकृतलाई न त आईजीपीको डर हुन्छ न त संगठनकै ।

अहिलेको अवस्थामा शक्ति केन्द्रसँग पहुँच नभएका अधिकृतलाई भने सधैँ पछि धकेल्दै आएको छ । अहिले काज सरुवा गरिएका क्षेत्रलाई हेर्दा विशेष गरी सुगम इलाका र उपत्यकामा बढी काज हुने गरेको देखिन्छ । शक्ति केन्द्रसँग भएका प्रहरी अधिकारीहरुले संगठन प्रमुखलाई दबाब दिएर आकर्षक स्थानमा जान थालेका छन् ।

गृह मन्त्रालयको सचिवालयमा अहिले उपत्यका वृत्तहरुमा कस–कसलाई पठाउने भन्ने बारेमा छलफल शुरु भइसकेको छ । काठमाडौ, भक्तपुर र ललितपुरका डिएसपी कार्यालयहरु आकर्षक भएकाले ती ठाउँमा जानका लागि अहिले गृह मन्त्रालयमा दिनहुँ डिएसपीहरुको लाइन लाग्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७