विमानस्थलमा सीइओ रेग्मीको मदिरा ‘लफडा’ बारे पर्यटन बोर्डको यस्तो स्पष्टीकरण


२२ कार्तिक २०७८, सोमबार
tia vs dhanajaya 2ANNLUHRLd 1

काठमाडौं, २२ कात्तिक । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र विमानस्थल भन्सार कर्मचारीका बीच मदिराको विषयमा भएको विवादका विषयमा स्पष्टीकरण दिएको छ ।

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी भई नेपाल फर्किने क्रममा विमानस्थलको आगमन कक्षमा गत २० गते मदिराको विषयमा ‘लफडा’ भएको थियो । विमानस्थलमा रेग्मीले ड्युटी फ्रि मदिरा कोटाभन्दा बढी ल्याएको भन्दै कर्मचारीले रोकेका थिए । पर्यटन बोर्डका प्रवक्ता नन्दिनी लाहे थापाले बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार चेकजाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँचपासमा खटिएका कर्मचारीहरुको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरी डा. रेग्मी र बोर्डको समेत मर्यादामा आँच आउने ढंगले प्रचार गरिनु दुःखद् विषय भएको बताएकी छिन् ।

‘भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथि कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छौँ’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत र भ्रामक रहेको पनि बोर्डले स्पष्ट पारेको छ । त्रिभुवन विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले समेत मदिरा सेवन गरेको रिपोर्ट नआए पनि कोटाभन्दा बढी मदिरा लिएको विषयमा कारबाही गरेको बताएका छन् । विमानस्थलले रेग्मीलाई ५ हजार जरिवाना तिराएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बोर्डका सीईओ रेग्मी र विमानस्थलका कर्मचारीलाई बोलाएर घटनाको सोधपुछ गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७