एमालेलाई असफल बनाउन चौतर्फी आक्रमण हुँदैछ : अष्टलक्ष्मी शाक्य


२२ कार्तिक २०७८, सोमबार
astalaxmi shakya121631780997

हेटौंडा, २२ कात्तिक । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरुले चौतर्फी आक्रमण गरिरहेको उनले आरोप लगाइन् ।

सोमबार वागमती प्रदेशको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताइन् । प्रदेशकी पूर्व मुख्यमन्त्री समेत रहेकी शाक्यले सम्पूर्ण प्रदेशसभा सांसद तथा कार्यकर्तालाई तोकिएकै समयमा महाधिवेशन हुने भएकाले त्यसलाई सफल बनाउन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न समेत आह्वान गरेकी छन् ।

‘एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ ? कसरी भूमिका विहीन अवस्थामा पु¥याउन सकिन्छ भनेर विभिन्न तत्वहरु क्रियाशील भइरहेका छन्, ’ उनले भनिन्, ‘यतिबेला एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको छ । त्यसकारण हामीले योजनाबद्ध ढंगबाट सदन र पार्टीमा आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ ।’

उनले राष्ट्रिय राजनीतिको असर प्रदेशसभामा पर्न नदिन धेरै कोसिस गर्दा पनि नसकिएको बताइन् । प्रदेशसभाको स्थापनादेखि सत्तापक्षको रुपमा रहेको एमाले पहिलो पटक सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिका प्रस्तुत हुँदैछ । यसबीचमा बहुमतका आधारमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत रहेको छ ।

‘प्रदेशसभामा हाम्रो भूमिका फेरिएको छ । हामी पहिलो पटक प्रतिपक्षीको रुपमा प्रस्तुत भएका छौं । अब हामी सशक्तरुपमा प्रस्तुत हुनुपर्छ,’ संसदीय दलका नेता समेत रहेकी शाक्यले बैठकमा भनिन्, ‘हामी कमजोर भएको खण्डमा सरकार गलत बाटोमा जान्छ । त्यसकारण योजना बनाएर अगाडि बढ्न जरुरी रहेको छ । ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७