बालबालिकाका लागि एक करोड कोभिड खोप खरिद गर्दै सरकार


२३ कार्तिक २०७८, मंगलवार
pfizer1627480571

काठमाडौं, २३ कात्तिक । सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । सरकारले खोप खरिदका लागि रकम समेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७