एमाले महाधिवेशनमा ‘राम–लक्ष्मण’ मेसिनबाट मतदान, तरिका सिकाउन नेता–कार्यकर्तालाई ‘क्लास’


२३ कार्तिक २०७८, मंगलवार
uml vote class oCKDiwhQAv

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेले आफ्नो आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने सिप सिकाउन पार्टीका नेता–कार्यकर्तालाई नमुना मतदान अभ्यास गराउन थालेको छ ।

एमालेको केन्द्रीय कार्यालय (थापाथली) मा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउन आजदेखि नमुना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

‘आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमुना मतदान गरिरहेका छौं’, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, ‘पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनु् भएको छ ।’
उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुईवटा मेसिनबाट नमुना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमुना मतदान गराइने उनले जानकारी दिए ।

uml matadan lxdqWHkDsd

एमालेको नवौं राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा प्रयोग गरिएको थिएन । यस पटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर एमालेले राम–लक्ष्मण इनोभेसेनसँग सम्झौतासमेत गरिसकेको छ । निर्देशक रिमालले सबै प्रतिनिधिलाई एकपटक विद्युतीय मेसिनमा नमुना मतदान गराइने बताए ।

‘महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एकपटक विद्युतीय मेसिनमा नमुना मतदान गरेर मात्र हामीले मतदान गराउने छौं’, उनले भने, ‘महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमुना मतदान गराउनेछौं ।’ विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइनेछ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५-१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए ।

‘जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ’, उनले भने, ‘सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आंकलन छ ।’ निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उनले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।

एमालेको महाधिवेशनमा १,९९९ जनाभन्दा नबढ्नेगरी प्रतिनिधि चयन गरिने छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिँदै मुलुकको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरू दललाई प्रेरणा मिल्न सक्ने जनाए ।

नवौं महाधिवेशनमा मेसिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लगेकाले त्यसको तुलनामा मेसिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने उनको भनाइ छ ।

मतदानका लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिनेछ । एक वटा मतदान केन्द्रमा आठवटा मेसिनबाट मतदान गरिने उनले नकारी दिए । ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहने छन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको उनले बताए । मतदान भएको चार घण्टामा सबै परिमाण घोषणा गरिने उनले बताए । मतदान गरिसकेपछि सबै मेसिनबाट कसले कति मत पाए भन्ने नामावली समेत प्रिन्ट गरिन्छ । सय वटा मेसिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिमाण घोषणा गरिने उनले बताए ।

‘मुचुल्का बनाउनेदेखि मतपरिणाम घोषणा हुँदासम्म करिब चार घण्टा समय लाग्छ’, उनले भने । उक्त इनोभेसनले हालसम्म ९२ वटा संस्थाको निर्वाचन गराइसकेको छ । विद्युतीय मेसिनबाट यसअघि नै एमालेको संसदीय दलको निर्वाचन भइसकेको छ । तत्कालीन राप्रपा नेपालले पनि यो मेसिन प्रयोगबाट निर्वाचन गराइसकेको छ । हालसम्म सबैन्दा ठूलो निर्वाचन १० हजार मतदाता रहेको राष्ट्रिय सहकारी बैंकले पनि विद्युतीय मेसिनबाट निर्वाचन गराइसकेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७