भीम रावललाई लेखराज भट्टको सुझाव : म बिना पार्टी हुँदैन भन्ने चिन्तन गलत हो


२३ कार्तिक २०७८, मंगलवार
lekhraj bhatta bhim rawal OWXEGG3uNd

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिएका छन् ।

आज मङ्गलवार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इञ्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन् । एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इञ्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिए ।

प्रदेश इञ्चार्ज भट्टले भने, ‘नेपाली राजनीतिमा हिजोको दिनमा मर्यादित, सुव्यवस्थित, सम्मानजनक ढङ्गले जाने र आफ्ना मतलाई व्यक्त गर्ने कमिटी प्रणाली छ । सङ्गठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, विचार, भिन्न मतलाई छलफल र समाधान गर्दै आएका छौं । कसैलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ, नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरू आउँछन् । पार्टी म विना हुँदैन भन्ने चिन्तन गलत छ । व्यक्ति नभए पनि पार्टी चल्छ, देश चल्छ र जीवन चल्छ । यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ, अहिलेको हाम्रो लक्ष्य र उद्देश्य निर्माण हो, एकता हो र हामीले पार्टीले लिएको नीति र व्यक्तित्वले लिएको दर्शन के हो त ? समृद्ध नेपाल र सुखी नेपाली आम समाजवादतिर कसरी लैजान सकिन्छ भन्ने हो ।’

एमाले उपाध्यक्ष रावलले आज बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई नागरिक र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए । उनले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरूलाई मात्र खुसी बनाउने बताए ।

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको छ । पूर्ण बैठकमा प्रदेश अध्यक्ष थापाले सुदूरपश्चिममा एमाले अधिवेशन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताए ।
बैठकमा प्रदेश इञ्चार्ज लेखराज भट्ट, सह–इञ्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७