९ सय रोपनीको न धान रह्यो, न खेत

स्थानीयवासी भन्छन्, ‘यो वर्ष भोकमरीको चिन्ता भयो’


२४ कार्तिक २०७८, बुधबार
dhan 20211109233527

धनकुटा, २४ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–४ छब्बिसेका भीमबहादुर भुजेलले नावा खोलाछेउ ६ रोपनी खेतमा अधियामा धान रोपेका थिए । तर, बाढीले बाली त नष्ट गर्‍यो नै । खेत समेत बगरमा परिणत भयो। जहाँ वर्षभरि खान पुग्ने धान फल्थ्यो । बाढीले नष्ट गरेपछि अब अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको भुजेल बताउँछन् ।

‘बगर बनेको खेत हेर्दा विरक्त लाग्छ’, भुजेल भन्छन्, ‘वर्षमा धान तीन बालीसम्म पाक्ने खेत बगरमा परिणत भयो ।’ अर्का स्थानीयवासी रवीन्द्र आचार्यको १३ रोपनी खेतको नामोनिशान छैन । ‘खेतमा रहेको धानको बाला हेर्दा यसपालि उत्पादन राम्रै होला जस्तो लाग्थ्यो’, आचार्य भन्छन्, ‘तर, अहिले नामोनिशान छैन ।’

धनकुटा र पाँचथरको सीमाक्षेत्रमा रहेको नावा खोला तमोर नदीमा मिसिन्छ । तमोरसँग मिसिने ठाउँमा उब्जाउ बेंसी फाँट छ । साहूटार, खलंगे, सार्के, गाउँजे, बडारे हुँदै छब्बिसेसम्म धान फल्ने बेंसी फाँट छन् । त्यहाँ धनकुटा, पाँचथरसहित तेह्रथुमका किसानले धान खेती गर्थे । ती सबै फाँट कात्तिक पहिलो साता बाढीले पुरिदिएको हो ।

धान पाकेर लहलह हुने बेला करिब ६० घरपरिवारको ९ सय रोपनी खेतमा बाढी पसेको चौबिसे–४ का वडाध्यक्ष नगेन्द्र तामाङ बताउँछन् । त्यहाँ उत्पादन हुने धानले किसानको वर्षदिन धान्थ्यो । तर, बाढीले मरुभूमि जस्तो बनाइदियो । खेत बालुवा नै बालुवाले भरिएको छ । नावाको खोलामा उर्लेको बाढी तमोरले छेकिदिँदा खेतमा पसेको वडाध्यक्ष तामाङको भनाइ छ ।

२०२५ सालमा पनि बाढीले बगाइदिएको स्थानीय मानबहादुर आचार्य सुनाउँछन् । भन्छन्, ‘त्यो बेला पनि क्षति धेरै भएको थियो । पुनः ५३ वर्ष फेरि उस्तै नियति भोग्न पुग्यौं ।’ वडाध्यक्ष तामाङका अनुसार यहाँको खेतमा वर्ष ३ बाली फल्थ्यो । किसानले धान, मकै, गहुँ, आलुलगायत खेती गर्थे । साउनको सिजनमा एक रोपनी क्षेत्रफलमा ६ मुरीसम्म धान उत्पादन हुन्थ्यो । मंसिरको बालीमा एक रोपनीमा ४ मुरीसम्म धान उत्पादन हुने उनी सुनाउँछन् । यसपटक भोकमरि हुने सम्भावना रहेको उनको भनाई छ ।

छब्बिसेको बेंसी फाँटभन्दा माथिल्लो भाग डिहिटारमा धान रहे पनि सिँचाइ अभावमा सुक्न थालेको छ । यस फाँटमा बाढीले क्षति नपुर्‍याए पनि फाँटमा ल्याइएको करिब डेढसय मिटर कुलो बाढीले बगाएको छ । धान पसाएको बेला सिँचाइको आवश्यकता थियो । तर, कुलो भत्किएको कारण यो पटक बाली माया मार्नुपर्ने स्थिति रहेको पाँचथर तुम्मेवा–१ आङनाका सीताराम पौडेल बताउँछन् । उनका अनुसार डिहिटारमा दुई बाली धान र एक बाली गहुँ तथा तरकारी खेती हुन्थ्यो ।

चौबिसे–२, ३, ४, ५ र ८ वडामा धान खेती हुन्छ । गत कात्तिक पहिलो साताको वर्षाले धानबालीमा मात्रै २ करोड ५ लाखबराबरको क्षति पुर्‍याएको चौबिसे गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक घनेन्द्र घिसिङ बताउँछन् । ‘वर्षाले बेंसी फाँटको धान बालीमा क्षति पुर्‍यायो भने माथिल्लो भेगमा अलैंची र तरकारी बालीमा’, उनी भन्छन् । धान बाहेक अलैंची, तरकारी जस्ता अन्य कृषिजन्य बालीमा ३ करोड ५० लाख रुपैया बराबरको क्षति पुर्‍याएको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७