पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगार दिने, ज्याला दैनिक एक हजार


२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं, २५ कात्तिक । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको बोर्डले जनाएको छ ।

यसबाट उनीहरुको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनःउत्थानका लागि सहयोग पुग्ने बोर्डको भनाई छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको कार्यक्रमअन्तर्गत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा रहेका पुल तथा पुलेसाको मर्मत सम्भार, पैदल मार्गका सिँढी मर्मत सम्भारलगायतका काम गर्नुपर्नेछ ।

अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनु पर्नेछ ।

अगामी मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यही कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ । १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन एक हजार रुपैयाँ ज्याला पाउने बोर्डले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७