सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते


२५ कार्तिक २०७८, बिहीबार
sarbochha

काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।
उनले भने, ‘प्रहरीको लाठ्ठी चार्जबाट उहाँहरु घाइते हुनु भएको हो ।’

कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ । भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन् ।

सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरेपछि ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै वकिलले नाराबाजी गरिरहेका छन् ।

प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान कायमै राख्दै नियमित मुद्दाको पेशी तोक्न थालेपछि आन्दोलन चर्किन थालेको हो । बिहीबार उपत्यकाका सबै अदालतमा वकिलहरूले दुई घण्टा इजलास बहिस्कार गरेका छन् । राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनका सचिव लीलामणि पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७