चार धामलाई समेटेर शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्छ : मन्त्री आले


२५ कार्तिक २०७८, बिहीबार
prem aale

कर्णाली, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चार धामलाई समेटेर शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्बीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र ती शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उनले बताए । उनले भने– ‘भगवान शिवले बास गरेका चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरका अरबौँ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ । यो सर्किटको कन्सेप्टले यी शिवालयहरुप्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ ।’

पर्यटनमन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको समेत बताए । उनले एकपटक विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए । यी दुई धार्मिक स्थलहरूले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतीकका रुपमा पनि रहेको उल्लेख गरे ।

शुक्रवार नै दर्जनौं युवाहरुले ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झण्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७