अराजक बन्दै बार


२६ कार्तिक २०७८, शुक्रबार
sarbochha

काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नारा जुलुस गरे ।

न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो । नेपाल बारका पूर्वपदाधिकारी,वर्तमान पदाधिकारी,वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए । कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ । राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे ।

सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानुन व्यवसायीलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरेका थिए । सुरुमा पाँचजना सुरक्षाकर्मीले रोकेका थिए । माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानुन व्यवसायी आक्रोशित भएका थिए ।

त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारी कानुन व्यवसायीबीच धकेलाधकेल भयो । त्यसपछि आक्रोशित बनेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध अमर्यादित नारा लगाएका थिए । नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यलगायत वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म नाराबाजीमा सहभागी थिए ।

बारका अध्यक्ष श्रेष्ठलगायतलाई सर्वोच्च प्रशासनले अदालतभित्र नाराबाजी नगरिदिन आग्रह गरेको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुवँरले बारका अध्यक्षलाई आन्दोलनमा संयम र धैर्य नगुमाइदिन आग्रह गरेका थिए ।

सर्वोच्च प्रशासनले बार एसोसिएसनले भद्र सहमति तोड्दै नियोजित हिसाबले जबर्जस्ती अदालतभित्रै नाराजुलुस गरेकोमा असन्तुष्टि जनाएको छ । बिहीबार भएको घटनामा सर्वोच्च प्रशासन र सुरक्षाकर्मीमाथि दोष लगाउनु गलत भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

‘बारका पदाधिकारी सीमा नाघेर मर्यादाविपरीत उत्रिनु गलत हो। आफ्नो पदीय मर्यादा, उत्तरदायित्व, सामाजिक अवस्था बिर्सेर जे पायो त्यही नारा लगाउनु ठीक होइन’, प्रवक्ता दाहालले भने,‘प्रशासनले विरोध कार्यक्रम गर्न पाइँदैन भनेको होइन । विरोध गर्न,आफ्ना कुरा राख्न पाइन्छ । उहाँहरू बौद्धिक वर्ग हुनुहुन्छ, संयमित भएर निषेधित क्षेत्रमा नभई सीमित एरियामा रहेर आन्दोलन गर्न आग्रह गरिएको हो ।’ कानुन व्यवसायीमाथि सुरक्षाकर्मीबाट आक्रमण नभएको र सञ्चारमाध्यममा आएका भिडियो हेर्दा पनि त्यस्तो नभएको थाहा हुने उनले बताए ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले विज्ञप्तिमार्फत न्यायपालिकाका विकृति, विसंगति हटाउन प्रधानन्यायाधीशको राजीनामा माग राखेर शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका कानुन व्यवसायीमाथि बिचौलिया र भिजिलान्ते लगाएर आन्दोलन तुहाउने प्रयास भएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतभित्र सुरक्षाकर्मी बोलाएर शान्तिपूर्ण कार्यक्रममा सहभागिमाथि हातपात गर्न लगाइएको विज्ञप्तिमा उल्लेख छ । बारले आन्दोलनका घोषित कार्यक्रम यथावत् रहेको जनाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७