पीसीएल नर्सिङ पढाउने संस्थामा १०० बेडको आफ्नै अस्पताल अनिवार्य


२७ कार्तिक २०७८, शनिबार
pcl nursing UJCrR20okQ

काठमाडौं, २७ कात्तिक । सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए ।

सीटीईभीटीका आङ्गिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।

ऐनको प्रावधान अनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए । ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ ।

सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् । सात वटा सिटीईभीटीका आङ्गिक कलेज हुन् । नयाँ व्यवस्था अनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए झण्डै एक हजार पाँच सय जनाले पढ्न पाउने छन् । सय बेडको अस्पताल भएका नर्सिङका लागि पनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीका सदस्य सचिव काफ्ले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७