झि-टोड्के पदमार्ग र उद्यान निर्माण शुरु


२७ कार्तिक २०७८, शनिबार
Padmarga Nirman Khotang

म्याग्दी, २७ कात्तिक । म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो ।

वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण शुरु गरेको जानकारी दिए । ‘गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौं’, उनले भने, ‘झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो ।’

सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान एक करोड एक लाख गरिएको थियो । कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ ।

पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ । विसं २०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए । उनका अनुसार ढुङ्गा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृष्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ ।

पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा अवस्थित टोड्केमा झिँ हुँदै दृष्यावलोकन गर्न जान सहज हुने, यात्रा अवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पाखोको चिप्लो र भिरालो तथा साँघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो । गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सुर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७