सरकारले तोकेको मूल्य पाउँदैनन् किसान


२७ कार्तिक २०७८, शनिबार
dhan 1

दाङ, २७ कात्तिक । सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले धान खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गरेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे ।

ट्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । ‘वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो’, उनले भने । लमही नगरपालिका–३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गरेका थिए । गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो । मसिनो धान रु दुई हजार ५०० मा बिक्री गरेको उनले बताए । सरकारले तोकेको समर्थन मूल्य नपाएको उनको गुनासो छ ।

नेपाल सरकारले किसानबाट धान खरिद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७०० र मध्यम खालको धान रु दुई हजार ९०० प्रतिक्विन्टल खरिद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा रु दुई हजार ३०० क्वीन्टल र मसिनो धान बढीमा रु दुई हजार ५०० मा खरिद गर्ने काम भइरहेको कक्षपति राइसमिल लमहीका म्यानेजर मदन अधिकारीले बताए । पानीबाट बचेको धान मात्रै खरिद गरिरहेको उनले जानकारी दिए ।

बेमौसमी वर्षाले ७० करोड क्षति
दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसअन्तर्गत रु ७० करोड मूल्य बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् । जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो ।

खाद्यले धान खरिद नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नआएको कार्यालयले जनाएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी नआएको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७