वायु प्रदूषण : नयाँदिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव


२७ कार्तिक २०७८, शनिबार
air polution delhi bav4jYNh1f

नयाँदिल्ली, २७ कात्तिक । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।

भारतका प्रधानन्यायाधीश एनभी रमण, न्यायाधीशहरू डीवाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । ‘हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नुपर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ’, सुझावमा उल्लेख गरिएको छ ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ ? भन्ने प्रश्न पनि न्यायाधीशहरूले गरेका छन् । लकडाउनलाई अदालतले तत्कालीन उपायको रूपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने उपाय भने अरू नै अपनाउनुपर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकाहरूलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवतजावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरूले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञ तथा सरोकारवालाहरूले प्रदूषणबाट बालबालिकाहरूलाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । वायु प्रदूषणको असर बालबालिकाहरूमा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ । ‘बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दूरगामी समस्या हो’, उनले भने । बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै, आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीहरूको संख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए । नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । पटकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले तिहारका बेलामा राति अबेरसम्म पटाकाहरू पड्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरूको भनाइ छ ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् । दिल्ली मात्रै नभई भारतका अरू पनि धेरै सहरहरू अति प्रदूषित सहरमा पर्छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्यांकहरूले देखाएका छन् । रासस/एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७