पाँच प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

नाम तय नभएकोले प्रदेश–१ र २ मा भने अनिवार्य गरिएको छैन


२८ कार्तिक २०७८, आईतवार
imbost

काठमाडौं, २८ कात्तिक । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो ।

त्यस्तै, १ फागुन ०७८ देखि सवारी नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर जडान लगाउनुपर्नेछ । त्यस्तै, १ जेठ ०७९ देखि भने सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट लगाउनु पर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन सार्वजनिक सवारी, पर्यटन सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीलाई अनिवार्य गरिएको हो ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ । प्रदेश १ र प्रदेश २ मा भने प्रदेश नाम निश्चित नभएसम्मका लागि स्थगित गरिएको छ । ‘इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम राख्नुपर्ने भएकाले अहिले स्थगित गरिएको हो,’ यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले भने । प्रदेशको नाम तय हुने बित्तिकै ती प्रदेशमा पनि कार्यान्वयन गरिने उनको भनाइ छ ।

विभागका अनुसार सबै प्रदेशमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट काठमाडौंमा प्रिन्ट गरिनेछ । हुलाकमार्फत प्रदेशमा पठाइँदै छ । १ मंसिरदेखि अनिवार्य रूपमा अनलाइनमार्फत आफ्नो सवारीसाधनको विवरण भरेर तोकिएको यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

संघीय व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम प्रदेशको कार्यक्षेत्रमा पर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को क्रमसंख्या १४ ले दिएको अधिकारलाई प्रयोग गरी प्रदेशअन्तर्गतका कार्यालयमा कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको हो । मन्त्रालयले तोकिएको मितिअगाडि नै कुनै सवारीधनीले दस्तुर बुझाई रीतपूर्वक निवेदन दिएमा तोकिएको मितिअगाडि नै यातायात व्यवस्था कार्यालयले माग गरेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिदिनेछ ।

इम्बोस्ड नम्बर जडान गर्न साढे दुई वर्ष म्याद थप
तोकिएको समयमा इम्बोस्ड नम्बर जडान गर्ने काम पूरा नभएपछि १७ जेठदेखि कार्यान्वयन हुने गरी ३० महिना म्याद थप गरिएको छ । कुनै पनि ठेक्काको ५० प्रतिशत समयावधि मन्त्रालयको सचिवले थप गर्न सक्ने कानुनी व्यवस्थाअनुसार म्याद थप गरिएको हो । त्यसपछि पनि म्याद थप गर्नुपरे म्याद थपको विषय मन्त्रिपरिषद् बैठकमा लैजानुपर्नेछ । विभागका अधिकारीहरूले तोकिएकै समयमा जडान गर्ने कार्य सम्पन्न गर्ने दाबी गरेका छन् ।

यातायात व्यवस्था विभाग वा ठेकेदार कम्पनीको ढिलाइले नभएर अदालतको आदेशअनुसार ढिलाइ भएकाले म्याद थप गर्नुपरेको विभागका अधिकारीहरूको भनाइ छ । दुवै पक्षको कमजोरी नभई अदालतमा परेको मुद्दाका कारण ढिलाइ भएकाले म्याद थप गरेर काम गर्न थालिएको हो ।
इम्बोस्ड नम्बरमा नेपाली भाषा राख्ने कि अंग्रेजी राख्ने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि जडानको काम रोकिएको थियो । तर, अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान वा वितरण गर्न रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २७ मंसिर ०७६ मा खारेज गरेको थियो । त्यसपछि पुनः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खुलेको हो ।

म्याद थपे पनि लागतमा कुनै परिवर्तन नहुने
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी डेकाटुरसँग चार अर्ब ७८ करोड ७७ लाख (चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर) मा बुट मोडलमा सम्झौता गरेको थियो । त्यसमा समय थप गर्दा पनि कुनै किसिमको थप लागत सरकारले दिनु नपर्नेमा दुवै पक्ष सहमत रहेको विभागका अधिकारीहरूको भनाइ छ ।

यसअघि १७ जेठ ०७३ मा सरकारले ६० महिनाको समायावधि दिएर ठेकेदार कम्पनी बंगलादेश र अमेरिकाको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो । जडान थालनी भने ५ भदौ ०७४ मा भएको हो । तत्कालीन पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराइको गाडीमा प्लेट जडान गरेर थालनी गरिएको थियो ।

इम्बोस्ड नम्बर कार्यान्वयनले हुने फाइदा
१. इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आए सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही नम्बर प्लेट रहिरहन्छ ।

२. अहिले कतिपय सवारीसाधन कर नतिरी सञ्चालन भइरहेका छन् । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारी सञ्चालन गरेमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ ।
३. इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहन्छ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

४. इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली सवारीसाधन पनि विश्वस्तरीय मापदण्डअनुसारका हुनेछ । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ ।

५. अहिले नेपालमा नौ प्रकारका नम्बर प्लेट छन् । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि राष्ट्रपति, सरकारी, कूटनीतिक, निजी र व्यावसायिक (भाडा) गरी पाँचवटामा सीमित गरिनेछ ।

इम्बोस्ड नम्बर प्लेट कसरी चिन्ने ?
देब्रेपट्टि माथितिर नेपालको झन्डा हुन्छ । त्यसमुनि एनइपी लेखिएको छ । त्यसले नेपाल देश भन्ने जनाउँछ । त्यसमुनि होलोग्राम छ । अगाडि र पछाडि जडान गरिने दुवै नम्बर प्लेटमा माथिल्लो लाइनमा प्रदेशको नाम छ ।
नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह (क्याटेगोरी) हुन्छ । जस्तो ‘बी’ ले चारपांग्रे साना तथा मझौला सवारी भन्ने जनाउँछ । ‘ए’ ले मोटरसाइकल भन्ने जनाउँछ । यस्तो सवारीसाधनको ग्याटेगोरी ‘के’सम्म १२ वटा छ । त्यसपछिको ‘एए’, ‘एबी’ लगायतको अक्षरले त्यो सवारीसाधनको लट नम्बर जनाउँछ । त्यसपछि अन्तिमको नम्बरले सवारी दर्ता नम्बर बुझाउँछ ।

अहिलेसम्म एक लाख पाँच हजार इम्बोस्ड नम्बर प्रिन्ट, साढे १० हजार जडान
सरकारले १६ जेठ ०७८ सम्ममा देशभरका २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेको पाँच वर्ष पूरा भइसकेको छ । तर, विडम्बना तोकिएको म्याद सम्पन्न भएर थप पाँच महिना (कात्तिक ०७८) पूरा हुँदा साढे १० हजार सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएका छन् । त्यस्तै, अहिलेसम्म एक लाख पाँच हजार इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गरिसकिएको यातायात व्यवस्था विभागका निर्देशक पौडेलले जानकारी दिए ।

इम्बोस्ड नम्बर प्लेट निगरानी गर्ने गेट अझै राखिएको छैन
इम्बोस्ड नम्बर प्लेट जडान भएपछि त्यसलाई ‘रिड’ गर्ने गेटहरू राख्नुपर्ने हुन्छ । इम्बोस्ड नम्बर प्लेट ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार काठमाडौं उपत्यकाका पाँच नाका (नागढुंगा, दक्षिणकाली, अरनिको राजमार्ग, साँखु र टोखा)मा र उपत्यकाबाहिर विभिन्न पाँच प्रमुख ठाउँमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस (आरएफआइडी) निगरानी गर्ने गेट निर्माण गर्नुपर्नेछ ।

काठमाडौं बाहिर भने बुटवल, कोहलपुर, अत्तरिया, पथलैया र इटहरीमा गेट बनाइनेछ । राखिएको गेटबाट सवारी छिर्नेबित्तिकै त्यसको जानकारी केन्द्रीय सर्भरमा उपलब्ध हुनेछ । त्यसबाहेक थप गेट भने सरकारले बनाउँदै जानेछ । यसबाहेक ट्राफिक प्रहरीसँग मोबाइलजस्तै इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने स्क्यानर थोरै संख्यामा छ । स्क्यानर नम्बर प्लेटको स्टिकरमाथि राख्नेबित्तिकै त्यस नम्बरको सवारीसाधनबारे जानकारी दिन्छ । स्टिकर चारपांग्रे सवारीसाधनमा अगाडि सिसामा र मोटरसाइकलको हकमा नम्बर प्लेटसँगै रहन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७