अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि…


२८ कार्तिक २०७८, आईतवार
Dafna and

काठमाडौं, २८ कात्तिक । अमेरिकाको क्यालिफोर्नियाका दुई दम्पत्तीले ‘आइभीएफ’ प्रविधिमार्फत् एकअर्काको बच्चा जन्माएको पाइएको छ । फर्टिलिटी (प्रजनन) क्लिनिकमा ‘मिक्स–अप’ (गोलमाल) भएपछि उनीहरूले एकअर्काको बच्चा जन्माउन पुगेका हुन् । लस एन्जलसमा दायर गरिएको रिट अनुसार बच्चा जन्माएर आदानप्रदान गर्नुअघि केही महिना उनीहरूले एकअर्काका बच्चा हुर्काए ।

डाफ्ना कार्डिनलीले सन् २०१९ को अन्त्यतिर बच्चा जन्माएपछि शिशुको कालो वर्ण भएकाले आफू र पति एलेक्जेन्डरले ती शिशु आफ्नो नभएको आशंका गरेको बताइन् । तर, बच्चाको प्रेम, इन भिट्रो फर्टिलाइजेशन प्रक्रिया (आइभीएफ) र डाक्टरहरूप्रति विश्वासको कारण आफ्नो आशंकाहरू दबाएको उनको भनाई छ ।

आफू अर्कैको बच्चा लिएर गर्भवती भएको र आफ्नो बच्चा अर्कैको गर्भमा रहेको महिनौंपछि थाहा पाएपछि दीर्घकालीन मानसिक आघात पुगेको कार्डिनलीले बताइन् । ‘म डर, धोका, क्रोध र मुटु टुक्रिएको भावनाहरूबाट अभिभूत भए’, आफ्नो पतिसँगै पत्रकार सम्मेलनमा उपस्थित उनले मुद्दा दायर गर्ने घोषणा गर्दै भनिन् । ‘मेरो आफ्नै बच्चा बोक्नबाट म लुटिएँ । मैले गर्भावस्थाको समयमा उनलाई हुर्काउन र उनीसँग जोडिन, उनले लात मारेको महशुस गर्न कहिल्यै पाइन ।’

कार्डिनलीको उजुरीमा लस एन्जल्सस्थित क्यालिफोर्निया सेन्टर फर रिप्रोडक्टिभ हेल्थ (सीसीआरएच) र यसका मालिक डा. एलिरन मोरलाई ‘मेडिकल मालप्राक्टिस’ चिकित्सकीय कदाचार (गलत अभ्यास), सम्झौताको उल्लङ्घन र हेलचेक्य्राइँ गरेको र धोका दिएको आरोप लगाइएको छ । यसले न्यायीक परीक्षणको माग र अनिर्दिष्ट क्षतिपूर्तिको खोजेको छ ।

सीसीआरएचका प्रशासकले यसको बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको र प्रतिक्रियाको लागि मोरसम्म पुग्न नसकेको गार्जियनले जनाएको छ । चारै जना अभिभावकलाई प्रतिनिधित्व गर्ने वकील एडम वुल्फका अनुसार कथित ‘मिक्स–अप’ मुद्दामा संलग्न दुई अभिभावकले आफूहरू अज्ञात नै रहन चाहेको र आउने दिनमा उस्तै मुद्दा दायर गर्ने योजना बनाएका छन् ।

सीसीआरएचले गल्तीपूर्वक अर्कै दम्पत्तीको भ्रुण डाफ्नाको गर्भमा प्रत्यारोपण गरेको र उनको अण्ड र उनको पति एलेक्जेन्डरको वीर्यबाट बनाइएको उनीहरूको भ्रूण अर्कै महिलाको गर्भमा स्थानान्तरण गरिएको मुद्दामा दाबी गरिएको छ । दुवै दम्पत्तीले सन् २०१९ को सेप्टेम्बरमा एक हप्ताको फरकमा छोरी जन्माएका थिए । उजुरी अनुसार झण्डै तीन महिनाअघि डिएनए परीक्षणबाट भू्रण साटिएको पुष्टि नभएसम्म उनीहरूले अनजानमा एकअर्काको बच्चा हुर्काएका थिए ।

ज्यानुअरी २०२० मा बच्चा साटासाट गरिएको थियो । यस्तो ‘मिक्स–अप’ एकदमै दर्लभ हुन्छ तर अनपेक्षित भने हुँदैन । सन् २०१९ मा क्यालिफोर्नियाका एक दम्पत्तीले आफ्नो भ्रुण गल्तीपूर्वक न्यूयोर्ककी महिलामा प्रत्यारोपण गरिएको भनी मुद्दा दायर गरेका थिए । ती महिलाले छोरा जन्माएकी थिइन् र उनको दोस्रो छोरो अर्कै दम्पत्तीको थियो ।

प्रजनन सम्बन्धी मुद्दाहरूमा विशिष्टिकृत फर्मका वुल्फले आइभीएफ क्लिनिकहरूमाथिको निरीक्षण बढाउन आग्रह गरेका छन् । ‘यस मुद्दाले यस उद्योगमा संघीय नियमनको एकदमै आवश्यकता छ भन्ने हाइलाइट गर्छ’, उनले भने ।

आफ्नो सात वर्षीय जेठी छोरीलाई डाक्टरहरूले गल्ती गरेको र आफूले जन्माएको बच्चा उनकी बहिनी होइनन् भनी सुनाउँदा आफूलाई निकै गाह्रो भएको डाफ्नाले बताइन् । ‘उनको लागि मेरो मुटु चुडियो, सम्भवत सबैभन्दा धेरै’, उनले भनिन् । ‘मिक्स–अप’ प्रकाशमा आएपछि र बच्चाहरू एकअर्काका जैविक परिवारमा फर्किएयता चारै जना अभिभावक एकअर्काको जीवनमा रहन र ‘ठूलो परिवार बनाउने’ प्रयास गरेको डाफ्नाले बताइन् । ‘उनीहरू हाम्रो जैविक छोरीसँग त्यत्तिनै प्रेममा थिए जत्ति हामी उनीहरूको छोरीका लागि थियौं’, एलेक्जेन्डरले भने । द गार्जियनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७