गगनलाई रोक्दै देउवाको निर्देशन : अदालतको विवादमा अहिले हामी बोल्दैनौं


२८ कार्तिक २०७८, आईतवार
deuwa 1

काठमाडौं, २८ कात्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतमा जारी विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता गगन थापाले समयसामयिक विषयमा पार्टी मौन बसेर देशलाई अप्ठेरोमा धकेलिन दिन नहुने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले झण्डै चार सातादेखि न्यायालयमा देखिएको विवादमा नबोल्न नेताहरुलाई निर्देशन दिएका हुन् । आफ्नै निवास बूढानीलकण्ठमा आइतवार बसिरहेको बैठकमा नेताहरुले अदालतमा देखिएको विवादबारे कुरा उठाएपछि देउवाले यसबारे नबोल्न रुलिङ गरेका हुन् ।

गगन थापाले ‘म समसामयिक विषयमा बोल्छु, अदालतको समस्या छ’ भन्नासाथ सभापति देउवाले भने, ‘हुँदैन, अहिले समसामयिक विषय बोल्ने होइन ।’ देउवाले थापालाई रोक्ने प्रयोस गरेका थिए । तर थापाले भने देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने बताएका थिए ।

‘सर्वोच्च अदालत गत ८ गते देखि नै विवादमा फस्दा जनताको न्याय पाउने अधिकार बन्धक भएको छ, जनअधिकारका लागि बनेको कांग्रेसले यसबाट भागेर हुँदैन’, थापाले भने, ‘सर्वोच्चका विवादका विषयमा पार्टीले निर्णय गर्नुुपर्छ । सत्तारुढ र प्रतिपक्षी दलसँग पनि छलफल थाल्नु पर्छ ।’ उनले त्यसो नगरे पार्टीको भूमिकाका विषयमा जनताबाट प्रश्न उठ्ने बताएका थिए ।

पदाधिकारी र पूर्व पदाधिकारी बैठक लगत्तै बसेको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले अदालतको विवादमा कांग्रेसले बोल्न ढिला गर्न नहुने मत राखेका थिए । ‘केन्द्रीय समिति बैठकको सुरुमै डा. महतले अदालतबारे बोल्नुपर्ने कुरा उठाउनु भयो’, सहभागी एक नेताले नेपालखबरसँग भने ’तर सभापति एवम् प्रधानमन्त्री देउवाले यसबारे अहिले नबोलौं भन्दै नेताहरुलाई रोक्नु भयो ।’

महत र थापालाई बीचमै रोकिसकेपछि अहिले अदालतको विषयमा नबोल्न नेताहरुलाई निर्देशन नै दिए । ‘अदालतको विषयमा अहिले हामी नबोल्ने हो’, देउवाले भने, ‘सबैले सुन्नुहोला अहिले हामी बोल्ने पक्षमा छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७