अष्ट्रेलिया पहिलो पटक टि-२० विश्वकप च्याम्पियन


२८ कार्तिक २०७८, आईतवार
Josh Hazlewood austrila 1024x683 1

काठमाडौं, २८ कात्तिक । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको सातौं संस्करणको टी-२० विश्वकपको फाइनलमा छिमेकी न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्च ५ रनमा डर्याल मिचेलबाट क्याच आउट भए । दोस्रो विकेटका लागि दोस्रो विकेटका लागि ५९ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बोल्टले १३ औं ओभरको दोस्रो बलमा वार्नरलाई बोल्ड आउट गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । ओपनर मार्टिन गुप्टिलले तेस्रो ओभरको तेस्रो बलमा ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा इन साइट एज लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको चौथो ओभरको पाँचौं बलमा ओपनर डर्याल मिचेल एज लागेर ११ रनमा वेडबाट क्याच आउट भए । पहिलो विकेटका लागि गुप्टिल र मिचेलले २८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि विलियम्सन र मार्टिन गुप्टिलले ४५ बलमा ४८ रनको साझेदारी गरेका थिए ।

स्पिनर एडम जाम्पाको १२ औं ओभरको पहिलो बलमा गुप्टिल २८ रनमा क्याच आउट भए । ३५ बलमा खेलेका गुप्टिलले ३ चौका प्रहार गरे । विलियम्सनले १६ औं ओभरमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई ४ चौका र १ छक्का सहित २२ रन प्रहार गरेका थिए । सुरुवाती समय विलियम्सन १९ बलमा १८ रनमा खेलेका थिए । त्यसपछि विलियम्सनले रनको गति बढाएका थिए ।

तेस्रो विकेटका लागि विलियम्सन र ग्लेन फिलिप्सले ३७ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । फिलिप्स ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा १८ रनमा क्याच आउट भएका थिए । फिलिप्सले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश हेजलवुडको १८ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका विलियम्सन लङअफमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । जिमी निशमले १३ र टिम सिफर्टले ८ रनमा अविजित रहे ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले १ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चेपनि विकेट लिन सकेनन् ।

अष्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन् । अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो । २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७