चौधरीमाथि हामीले गोली चलाएका होइनौं : विप्लव


२९ फाल्गुन २०७४, मंगलवार

काठमाडौं, २९ फागुन : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले आफूहरु हतियारको राजनीतिमा नरहेको स्पष्ट पार्दै घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीको घटनामा आफूहरुको संलग्नता नरहेको जनाएको छ । biplap netra bikram chand

नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमण सुनियोजत भएको दावी गर्दै आफूहरुलाई बदनाम गर्ने कोशिस गरिएको आरोप लगाएको छ । सञ्चारकर्मीलाई टेलिफोनमार्फत प्रतिक्रिया दिदै नेकपाका जिल्ला सचिवालय सदस्य विनोद विष्टले घटना आफूहरुबाट नभएको जनाएका छन् ।
विष्टले पार्टी अहिले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने पक्षमा नरहेको बताए । उनका अनुसार पार्टीले अहिले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका काम गरिरहेको छ । पार्टीले नगर प्रमुख चौधरीमाथि कारबाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भए पनि पार्टीको जनकारबाहीमा हतियारले आक्रमण गर्ने कार्बाही नरहेको उनले दाबी गरे ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ । राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयम्सेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर जिल्ला सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घरमै बसिरहेका बेला सोमबार साँझ नगर प्रमुख चौधरीमाथि आक्रमण भएको थियो ।

घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए । चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ । उनलाई कोहलपुरबाट आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ । यद्यपी, मेयर चौधरीले आफू दोषीलाई छुटाउने काममा संलग्न नरहेको जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७