व्यवस्थापिका–संसद् शनिबार मध्यरातबाट स्वतः विघटन हुँदै
काठमाडाैं : चार वर्षअघि संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सांसदमध्ये शुक्रबार संसद्को अन्तिम बैठक चल्दै गर्दा आठ सांसदको नाम संसद्को सूचीमा थिएन । आजको नयाँ पत्रिकामा खबर छ ।संसद्को कार्यकाल सकिँदै गर्दा कुल सदस्य संख्या ५९१ मात्र हुन पुग्यो । नेपालको अन्तरिम संविधानअनुसार संविधानसभामा २४० प्रत्यक्ष, ३३५ समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत २६ गरी ६०१ सभासद् रहने व्यवस्था छ । सोहीअनुसार ०६४ को संविधानसभाको पहिलो निर्वाचन र ०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो । ०६४ को संविधानसभा निर्वाचनपछि संविधानसभाले ६०१ नै सभासद् पायो । ०७० पछिको संविधानसभा र संविधान जारी भइसकेपछि रूपान्तरित संसद्मा हुनुपर्ने सदस्य संख्यामध्ये दुईजना निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुन सकेनन् । मधेसी दलबाट मनोनयनका लागि नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद्ले २४ जना सदस्यलाई मात्र मनोनीत गरेपछि संसद्को कुल सदस्य संख्या ६०१ नभई ५९९ मात्र कायम भएको थियो ।
१. सुशील कोइरालाको निधन
कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको २६ माघ ०७२ मा ७७ वर्षको उमेरमा निधन भयो । निमोनियाले ग्रस्त पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको निधनले कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्य संख्या घट्न पुग्यो । कोइराला ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा चितवन ४ र बाँके २ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।
२. सूर्यबहादुर थापाको निधन
राप्रपाका तत्कालीन अध्यक्ष एवं सांसद सूर्यबहादुर थापाको २ वैशाख ०७२ मा निधन भयो । तत्कालीन संविधानसभाको ज्येष्ठ सदस्यसमेत रहेका ८८ वर्षीय थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राप्रपाबाट तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये उनी एक थिए ।
३. बाबुराम भट्टराईको राजीनामा
संविधान जारी भएसँगै तत्कालीन एमाओवादीका सांसद डा। बाबुराम भट्टराईले सांसद पदबाट राजीनामा दिए । ३ असोज ०७२ मा संविधान जारी भयो भने त्यसको ६ दिनपछि भट्टराईले एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । सांसदबाट समेत उनको राजीनामापछि संसद्मा कायम कुल सांसदको संख्याबाट अर्को एक संख्या घट्न गएको हो ।
४. योगेन्द्र तामाङ घिसिङको राजीनामा
माओवादी केन्द्रका ललितपुर जिल्लाबाट समानुपातिक सांसद योगेन्द्र तामाङ घिसिङले गत १५ भदौमा राजीनामा दिए । संसद्मा पार्टीको तर्फबाट भएका पटक–पटकका ह्विप उल्लंघन गरेको तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै माओवादी केन्द्रले उनीमाथि कारबाहीको तयारी गरेको थियो । संविधान संशोधन प्रस्तावमा पार्टीले ह्विप जारी गर्दासमेत घिसिङ अनुपस्थित थिए ।
५. माओवादी केन्द्रका भक्तिप्रसाद पाण्डेको निधन
माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको गत २९ कात्तिकमा निधन भयो । माओवादी केन्द्रबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदको संख्या ८४ भए पनि बाबुराम भट्टराईको राजीनामा तथा पाण्डेको निधनपछि अहिले सभामुखसहित गन्दा ८२ जनाको प्रतिनिधित्व छ ।
६. एमाले सांसद विद्यादेवी भण्डारी राष्ट्रपति
एमालेकी तत्कालीन उपाध्यक्ष एवं समानुपातिक सांसद विद्यादेवी भण्डारी ११ कात्तिक ०७२ मा राष्ट्रपतिमा निर्वाचित भइन् । संविधानसभाबाट संविधान जारी भएपछि रूपान्तरित संसद्ले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको हो । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्यको संख्या घट्न गएको हो ।
७. एमाले सांसद दुलारी देवीको निधन
गत ७ चैतमा भारतको सीतामढीमा एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल दुर्घटना भयो । घाइते देवीको काठमाडौंको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा ९ चैतमा निधन भयो । सर्लाहीबाट समानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद देवीको निधनले संसद्को सदस्य संख्या घट्न गयो ।
८. एमाले सांसद महिन लिम्बूको निधन
एमाले केन्द्रीय सदस्य एवं सांसद महिन लिम्बूको गत असारमा निधन भयो । धनकुटाबाट एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी लिम्बूको धरानस्थित बिपी कोइराला अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६० वर्षीया लिम्बू लामो समयदेखि अर्बुद रोगबाट पीडित थिइन् ।
जेलमा रहेका सांसद पनि संसद्को गन्तीमा
सद्भावना पार्टीका सांसद सञ्जयकुमार साह हत्या तथा बम विस्फोटसम्बन्धी अभियोगमा अहिले पनि जेलमै छन् । तैपनि उनी संसद् सदस्यकै रूपमा रहे । थुनामा रहेकाले संसद्मा उनको ‘भोटिङ राइट’ सदुपयोग भएको छैन । तर, संसदको कुल सदस्यसंख्यामा उनको पनि गन्ती भने हुने गरेको छ । सांसद साह फौजदारी मुद्दामा जेलमा रहे पनि उनी निर्दोष भएर थुनामुक्त भए संसद् सदस्य रहने भएकाले कुल सदस्यसंख्याको सूचीमा उनको समेत नाम रहेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए ।
यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन्
सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् । ‘कोही विदेश भ्रमण, कोही बिरामी, कोही जिल्ला भ्रमण जाँदा लामो समयसम्म उतै बस्ने गरेको पाइयो,’ उनले भनिन् । आफूलाई जानकारी नदिई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित हुने सांसद नरहेको सभामुख घर्तीले बताइन् । संसद् बैठकमा लगातार उपस्थित नभए पनि यी सांसदले नियमित पारिश्रमिक भने लिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार यी सांसदहरूले बैठक भत्ता भने पाएनन् ।