रोक्का गरिएको अफगान सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसलाई तालिबानको आग्रह


२ मंसिर २०७८, बिहीबार
Capture 8

काठमाडौं, २ मंसिर । तालिबानले अमेरिकी कंग्रेसलाई अफगानिस्तानको फ्रोजन एसेट्स (रोक्का गरिएको सम्पत्ति) फुकुवा गर्न आग्रह गरेको छ । गत अगस्टमा तालिबानले अफगान सत्ता हातमा लिएपछि रोक्का भएको सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसका सदस्यहरूलाई तालिबानले आग्रह गरेको हो ।

तालिबानका विदेशमन्त्री अमिर खान मुत्तक्कीले बुधबार एउटा खुला पत्र लेख्दै अफगानिस्तानले सबैभन्दा ठूलो वित्तीय असुरक्षाको सामना गरिरहेको बताए । अमेरिकी सरकारद्वारा अफगानी जनताको सम्पत्ति रोक्का गरिनुमा यसको जरा गाढिएको उनको भनाइ छ ।

उनले अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति फुकुवा गर्न र अरु बैंकहरूमाथि लगाइएको प्रतिबन्धहरू हटाउन आग्रह गरेका हुन् । अन्यथा, यसले थप मानवीय र आर्थिक संकट निम्त्याउने उनको भनाइ छ । मुत्तक्कीले यसबारेमा अमेरिकी कंग्रेसका सदस्यहरूले सोच्ने आशा व्यक्त गरेका छन् । तालिबानले सत्ता हातमा लिएपछि वासिङ्टनले अफगान केन्द्रीय बैंकको स्वामित्वमा रहको झण्डै साढे ९ अर्ब डलर रोक्का गरेको छ ।

पैसाको अभाव हुँदा अफगानिस्तानका कर्मचारीहरूले तलब पाएका छैनन् । मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदायले प्रतिवद्धता जनाए पनि तालिबानलाई समावेशी सरकार बनाउन दवाब दिएका उनीहरू त्यसअघि सहयोग गर्न अनिच्छुक जस्तै देखिएका छन् ।
संयुक्त राष्ट्र संघले अफगानिस्तानमा जाडो याममा गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिँदै आएको छ । त्यहाँका गरिब जनता खानका लागि आफ्ना कलिला छोरीहरू बेच्न बाध्य भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७