दबाबमा ओली : पदाधिकारी मिलाउन सकस


३ मंसिर २०७८, शुक्रबार
KP Sharma oli 1 1

काठमाडौं, ३ मंसिर । नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ । एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो ।

वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन् । तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन् । तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन् । वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन समस्या भएको हो । एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ ।

घनश्याम भुसाललगायतका नेता कुन पदमा निर्वाचनमा लड्ने भन्ने द्विविधामा छन् । तर संसदीय दलका उपनेता सुवास नेम्वाङले केपी ओली (अध्यक्ष) पछिको पदमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

महासचिव ईश्वर पोखरेल विधानअनुसार महासचिवमा दोहोरिन नमिल्ने भएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन् । भीम रावल, अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्ष बन्ने चाहना राखेका छन् । माओवादीबाट एमालेमा आएका रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७