बिजुलीको खपत बढाउन तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति


४ मंसिर २०७८, शनिबार
bidhyut2019 11 05 08 16 18

काठमाडौं, ४ मंसिर । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नु हुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नु हुनेछ ।

वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारी समेत दिन सक्नु हुनेछ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राखेकी थिइन् ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउने बित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिन समेत निर्देशन दिइएको छ । प्राधिकरणका अनुसार थ्री फेज लाइनतर्फ ४०० भोल्टको लोड स्वीकृति तथा जडानका लागि पनि अधिकतम १० दिनभित्र अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । हाल कायम रहेको संरचनाबाट दिन सकिने भए सात दिनभित्र र टिओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा भए १० दिनभित्र लोड स्वीकृत गरी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल कायम रहेको संरचना विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया अवलम्बन गरी तुरुन्त लाइन जोड्ने प्रबन्ध गर्नुपर्नेछ । मौजुदा वितरण संरचनामा ग्राहक स्वयंले विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया मिलाएर तीन दिनभित्र काम सम्पन्न गर्नु पर्नेछ ।

यस्तै ११ वा ३३ केभी क्षमताको लाइनमार्फत थप बिजुली दिनुपर्ने भए हाल कायम भएको संरचनाबाट बढीमा १० दिनभित्र आवश्यक काम गरिसक्न निर्देशन दिइएको छ । यस्तै जिआइएस गर्नु नपर्ने लोडका लागि प्रादेशिक प्रमुखले आवश्यक प्रक्रिया मिलाएर बढीमा तीनभित्र लोड स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ ।

जिआइएस गर्नुपर्ने भए त्यसका लागि प्रक्रिया पूरा गरी दस्तुर बुझाएको मितिले तीन दिनभित्र सबै काम सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ । प्राधिकरकणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बिजुलीको खपत बढाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

थ्री फेज लाइनको स्वीकृतिका लागि लामो समय लाग्ने, वितरण केन्द्रका कर्मचारीले अनेकन व्यवधान गर्नेलगायतका गुनासा ग्राहकबाट आएपछि प्राधिकरणले समय नै तोकेर आवश्यक निर्देशन दिएको छ । यसो गर्दासमेत काम हुन नसके ग्राहकले वितरण तथा ग्राहक सेवा निर्देशनालयमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो दिनमा झण्डै २०० मेगावाट र रातको समयमा ६०० मेगावाट बराबरको बिजुली खेर गए पनि खपत बढाउन हरसम्भव सबै उपाय अवलम्बन गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङले उद्योग प्रतिष्ठानलाई आवश्यक मात्रामा बिजुली उपलब्ध गराउने बताइसक्नुभएको छ । हालै मात्र चिनियाँ लगानीको होङ्सी सिमेन्ट उद्योगमा ३० मेगावाट बिजुली जोडिएको छ । यस्तै सो उद्योगलाई थप ५० मेगावाट बिजुली उपलब्ध गराइने भएको छ ।

मागअनुसारको बिजुली पाउन सकून् भनेर सबै वितरण केन्द्र र प्रादेशिक कार्यालयलाई स्पष्टरूपमा निर्देशन दिइएको र सोअनुसार काम भए / नभएको अनुमगनसमेत गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७