चीनमा किन एउटा संक्रमण पनि स्वीकार्य छैन ?


५ मंसिर २०७८, आईतवार
korona 1 3

काठमाडौं, ५ मंसिर । बाँकी विश्व कोभिड सँगसँगै बाँच्नेतर्फ लागिरहँदा चीनले चाहिँ अझै शून्य–कोभिड नीति छाडेको छैन ।
आधा बढी नागरिकलाई खोप लगाइसकेकाले पनि धेरै मुलुकहरु नडराइ कोभिड सम्बन्धी नियम खुकुलो पार्ने या हटाउने गरिरहेका छन् भने धेरैले सीमाना खुलाएर पर्यटकहरुलाई समेत स्वागत गर्न थालिसकेका छन् । तर चीनमा अवस्था बेग्लै छ ।

गत वर्ष बाँकी दुनियाँ चरम संक्रमणबाट गुज्रिरहँदा चीन सामान्य जीवनमा फर्किसकेको थियो जहाँ महिनौं नयाँ संक्रमण फेला परेका थिएनन् । तर यो वर्ष भने चीनको शून्य कोभिड नीतिमा अवरोध आइरहेको छ । जस्तै यसअघि एउटा फाइभ स्टार होटलमा सोधपुछ गर्न गएका एक व्यक्ति त्यहाँका केही ग्राहकमा संक्रमण देखिएपछि दुई हप्ता क्वारेन्टिनमा बस्नुप¥यो ।

यसैगरी रेलमा सवार चालक समूहका एक कर्मचारी कोरोना संक्रमितसँग नजिकी सम्पर्कमा आएको पत्ता लाग्नासाथ रेलभरिका सबै यात्रुहरुलाई क्वारेन्टिनमा राखेर परीक्षणका लागि लगियो । त्यस्तै एक दिनअघि एक जना पर्यटक संक्रमित रहेको थाहा भएपछि सांघाइ स्थित डिज्नील्यान्ड घुम्न आएका ३३ हजार बढी मानिसहरुले अचानक ठूलो स्तरमा परीक्षण गराउनु प¥यो ।

यसरी चीन यतिबेला एउटा संक्रमण पनि स्वीकार्य नहुने किसिमले आक्रामक तरिकामा कोभिड नियन्त्रणतर्फ लागेको छ । कोरोना सम्बन्धी मापदण्ड जारी गर्ने पहिलो देश चीन, उक्त कडाइ हटाउनमा पनि अन्तिम हुने जस्तो देखिएको छ ।

तर अर्को आश्चर्यजनक कुरा, बाटोमा हिँड्ने त्यहाँका आम सर्वसाधारणलाई यसबारे प्रश्न गर्दा उनीहरुले यस किसिमको कडाइप्रति कुनै गुनासो नरहेको बताए । आफूहरु सुरक्षित रहेसम्म सरकारले अपनाउने सबै नियम पालन गर्न उनीहरु तयार देखिएका छन् । जस्तै एक महिलालाई चीनले छिटै खुलाउनुपर्ने कुरा सोध्दा उनले सुरक्षा सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने भएकाले महामारी पूर्ण रुपमा नसुल्झिएसम्म नखुलाएकै राम्रो हुने बताइन् ।

केही महिना अगाडिसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, सिंगापुर लगायतका मुलुकहरुले पनि एक जनामा भाइरस देखा पर्नासाथ त्यसलाई समुदायमा रहनै दिनु हुँदैन भनेर पूरै शहर लकडाउन गर्ने गरेका थिए । तर यो नीतिमा अहिले धेरै बदलाव आइसकेको छ । हाल धेरै भन्दा धेरै मानिसहरुले खोप लगाइरहेको हुँदा उनीहरु कोरोना संक्रमित भएपनि अस्पताल भर्ना हुनुपर्ने छैन । त्यसैले थुप्रै मुलुकहरु अन्तर्राष्ट्रिय भ्रमणलाई अनुमति दिइरहेका छन् । तर चीनमा विदेशहरुलाई भिसा पाउन अझै धेरै कठिन छ ।

आधिकारिक तथ्यांकलाई हेर्ने हो भने अक्टोबर देखि चीनमा १ हजार बढी स्थानीय संक्रमण फेला परेका छन् । यो सङ्ख्या तुलनात्मक रुपमा त्यति उच्च होइन तर संक्रमणको फैलावट उल्लेखनीय मानिएको छ जसबाट २१ प्रान्त प्रभावित भएका हुन् । किनकी थोरै संख्यामा बिरामी फेला पर्दा पनि चीनमा सयौं, हजारौँ संक्रमित भए जत्तिकै रुपमा कडाइ अपनाइन्छ ।

‘एउटा संक्रमण पनि स्वीकार्य छैन’

र चिनियाँ निकायहरुले यो नीति अपनाउन छाड्ने कुनै संकेत दिएका छैनन् । चिनियाँ वैज्ञानिकहरुले नै यसबारे पुनः विचार गर्नुपर्ने भनिरहेपनि अहिलेसम्म कतै कुरा उठेको छैन ।

हङकङ युनिभर्सिटीकी भाइरोलोजिस्ट प्रोफेसर गुआन यीले दिर्गकालीन रुपमा हेर्दा शून्य–कोभिड नीति अपनाएर कोरोनालाई पूर्ण हटाउन सकिने कुनै सम्भावना नरहेको बताइन् । उनी भन्छन्, ‘भाइरस अब स्थायी भइसकेको छ । यसलाई इन्फ्लुएन्जा जत्तिकै सामान्य मान्न सकिन्छ जुन मानव समुदायमा धेरै लामो समय रहिरहनेछ ।’

अन्य मुलुकका लागि यस किसिमको नीति कठिन महसुस हुन सक्छ तर चीन सरकारले आफ्ना जनतामा यसको छाप छाडिसकेको हुँदा अब आएर वचन बदल्न पनि हुने देखिन्छ । यसलाई चीन सरकारको राजनीतिक रणनीतिका रुपमा पनि हेर्न सकिन्छ जसले कोभिड नियन्त्रणमा चीनको सफलता दर्शाउँछ । त्यसैले यदि सरकारले अचानक शून्य कोभिड नीति हटायो र संक्रमण पनि बढ्दै जाने हो भने नागरिकहरुले सरकारसँग प्रश्न उठाउने छन् ।

न्युयोर्कमा आधारित अर्का डाक्टर ह्वाङ यानजोङका अनुसार यस पछाडिको अर्को सम्भावित कारण भनेको चीन आफै आफ्नो खोपप्रति पूर्ण विश्वस्त छैन । यसले संक्रमण पूर्ण रुपमा रोक्न सक्छ भन्नेमा उनीहरुलाई नै शंका छ । र वास्तवमै सबैभन्दा उत्कृष्ट ठहर गरिएको खोपले पनि संक्रमणबाट पूर्ण सुरक्षा दिन सक्दैन ।

त्यसैगरी अब आउँदो विन्टर ओलम्पिक्सको तयारीका कारण पनि चीनका लागि कोभिड नियन्त्रण अधिक महत्वपूर्ण बनेको छ । बेइजिङले यस खेललाई कोभिड संक्रमणमुक्त वातावरणमा सञ्चालन गर्ने चाहाना व्यक्त गर्दै आएको छ । यसबीच ठूलो स्तरमा परीक्षण, केन्द्रिय क्वारेन्टिन, यात्रामा नियन्त्रण, उच्च स्तरीय निगरानी, ट्रयाक र ट्रेसिङ अनि कडा स्थानीय लकडाउन चीनमा महामारी नियन्त्रणको ठूलो हिस्सा रहिरहने छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७