नेकपा (एस) आज प्रदेश–२ सरकारमा सहभागी हुँदै, महत्तो र यादव मन्त्री बन्दै


५ मंसिर २०७८, आईतवार
Pradesh 2 Satrudhan Pramod1637318923

जनकपुर, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी) आज प्रदेश–२ सरकारमा सहभागी हुने भएको छ । लामो छलफल र रस्साकस्सीपछि दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागि हुन लागेको हो ।

प्रदेश–२ मा एकीकृत समाजवादीले उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको छ । उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेबारी प्रमोद यादवले सम्हाल्दै छन् । आइतबार बिहान १० बजे उनीहरुले पद तथा गोपनियताको सपथ लिन लिने कार्यक्रम छ ।

नेकपा (एस) लाई सरकारमा ल्याउन गएको मंगलबार नै जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारीबाट रामनरेश रायलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए । संघमा रहेको पाँच दलीय गठबन्धन जस्तै एकीकृत समाजवादीको प्रवेशसँगै प्रदेश–२ सरकारले पनि आजदेखि पूर्णता पाउन लागेको छ ।

कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्रालय फुटाएर १० वटा बनाएका छन् भने पूर्व राजपा महन्थ पक्षलाई मन्त्री र राज्यमन्त्रीबाट बर्खास्त गरेका छन् । कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश–२ सरकारमा सहभागी भइसकेको छ । मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी छ ।

तर नेकपा (एस) ले बाँकी रहेका दुई मध्ये एक र आर्थिक मालिमा योजना मन्त्रालय अथवा समाजिक विकास मन्त्रालय माग गर्दै बार्गेनिङ गरेको थियो । तर कुरा मिलेको थिएन । अन्ततः उद्योग वन पर्यटन तथा वातावराण मन्त्रालयसहित दुई मन्त्रालय दिएपछि नेकपा (एस) सरकारमा सहभागि हुन सहमत भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७