ओलीले अब विश्राम लिएर अध्यक्षमा मलाई सघाउनु पर्छ : भीम रावल


५ मंसिर २०७८, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अब विश्राम लिएर आफूलाई सघाउन आग्रह गरेका छन् ।

ओली ७० वर्षसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई सबै महत्वपूर्ण जिम्मेवारी बहन गरिसकेकाले अब विश्राम लिएर आफूलाई सहयोग गर्नुपर्ने रावलले बताए । ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ,’ उनले भनेका छन्, ‘यस क्रममा उहाँले देश र जनताका लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् ।’

रावलले यसअघि नै ओलीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेको स्मरण गराएका छन् । ‘उहाँ (ओली) स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नु भएको हो’, रावलले भने, ‘उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभवलगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटी अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु ।’

उपाध्यक्ष रावलले झण्डै दुई तिहाइ बहुमतको तत्कालीन नेकपा सरकार र एमाले कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा रावलले कसका कारण सरकार र पार्टी कमजोर भएको हो भन्ने समीक्षा आवश्यक भएको बताएका हुन् ।

‘झण्डै दुई तिहाइ बहुमत भएको पार्टी कसरी कमजोर हुँदै फुटमा परिणत भयो ?, संघ देखि प्रदेशसम्मका सरकार ढलेर सत्ताको पार्टी प्रतिपक्षमा पुग्यो ?’, रावलले भने, ‘यसका विषयमा ठण्डा दिमागले निर्मम समिक्षा गर्न जरुरी छ ।’ उनले पार्टीभित्र नेता विशेषका कारण यस्तो परिस्थिति आयो वा अन्य कारण छन् भनेर एकिन गर्न पनि समीक्षा आवश्यक भएको बताए ।

पार्टीको एकता कायम राख्न गरेको १० बुँदे सहमति कार्यान्वयन नभएको र त्यसकै आधारमा केन्द्रीय कमिटीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) कार्यान्वयनमा पनि एकरूपता नदेखिएको भन्दै उनले अध्यक्ष केपी ओलीलाई अप्रत्यक्ष रूपमा पार्टी कमजोर बनाएको आरोप लगाए । उनले पार्टीलाई बलियो बनाउँदै देशको स्वाधीन र स्वाभिमान बचाउन आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । उनले नीति तथा कार्यत्रक्रमकै शैलीमा पार्टीलाई अघि बढाउने नीति सार्वजनिक गर्दै नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७