जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, सबैको सनाखत


६ मंसिर २०७८, सोमबार
jeep accident 20211122001406

बैतडी, ६ मंसिर । बैतडीमा जन्ती बोकेको जीप आइतबार राति दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । म.१ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

खड्काका अनुसार जीपमा सवार सात जनामध्ये पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको खड्काले बताए ।

दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ८ बजे जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ । उक्त जीप दशरथचन्द–२ को थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द–६ को सिमायलतर्फ जाँदै थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७