गोला प्रक्रियाबाट तोकिने पेसीको प्रतीक्षा


६ मंसिर २०७८, सोमबार
Sarbochha
फाइल फोटो

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ७ देखि सहकर्मी न्यायाधीशले मुद्दा सुनुवाइ गर्न छोडेपछि बाध्य भएर गोला प्रक्रियामा जान लागिएको हो । राजीनामा माग गर्दै न्याय सेवा ठप्प भइरहेका बेला गोला प्रक्रियाबाट मुद्दाको दैनिक पेसी तोक्न नियमावली र निर्देशिका संशोधन गर्ने निर्णय बिहीबार भएको थियो ।

नयाँ प्रणालीबाट मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशले चाहेको इजलासमा मुद्दा पर्ने छैनन् । प्रधानन्यायाधीशले मुद्दा आफूले चाहेको समयमा स्थगित गर्ने,आफूले चाहेका मुद्दामात्रै आफू खुसी न्यायाधीशको इजलासमा पार्ने गरेको आरोप लाग्दै आएको छ । मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार विवाद हुँदै आएको छ ।

नियमावली र निर्देशिका संशोधनको बेहोरा सोमबार राजपत्रमा प्रकाशित हुँदैछ । राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले कुन दिनदेखि लागू गर्ने भन्ने तय गर्नेछ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पादन गरी शुक्रबार पठाएको संशोधित विषय राजपत्रमा छाप्न पठाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए । ‘गोला प्रक्रियाबाट पेसी सुरु गर्न राजपत्रमा अनिवार्य प्रकाशित हुनुपर्ने हुन्छ । हामीले आजै (आइतबार) पठाइसकेका छौं । भोलि छापिन्छ ।’

अटोमेसन प्रणाली सुरु भएपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दा हेरिनेछन्। त्यससँगै चार सातादेखि अवरुद्ध भएको न्याय सम्पादन सुचारु हुनेछ । प्रधानन्यायाधीश जबराको राजीनामाको माग यथावत् राख्दै १९ जना न्यायाधीशले गोला प्रक्रियाबाट पेसी तोकी मुद्दा हेर्ने भएका छन् ।

आइतबार प्रधानन्यायाधीश जबराले सबै प्रकारका गरी ३३४ मुद्दामा पेसी तोकेका थिए । त्यसमध्ये १८ वटा मुद्दामा इजलास बसेको थियो । बन्दी प्रत्यक्षीकरण, तामेलीमा पठाउने, मुद्दा फिर्ता, मिलापत्र विषयका मुद्दामा न्यायाधीशले सुनुवाइ गरेका छन् । न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी सुरु गरेर मुद्दा हेर्न थालेपछि पनि प्रधानन्यायाधीशको ‘ग्रेसफुल एक्जिट’को माग नछोड्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीशसँग एउटै इजलासमा नबस्ने अडान पनि जारी नै राखेका छन् ।

नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै शुक्रबारसम्म आन्दोलन जारी राख्ने भएको छ । आइतबारका लागि बारले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेको थियो । कानुन व्यवसायीले सर्वोच्चमा दंगा प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए ।

आइतबार सर्वोच्च अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना कार्यक्रमलाई दबाउने, हातपात, कुटपिट गरिएको विरोधमा देशभरका अदालतमा बन्दीबाहेकका मुद्दामा बहस नगर्ने निर्णय बारले गरेको छ । बारले सोमबार दुई घण्टा कालोपट्टीसहितको धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । त्यसैगरी मंगलबार हदम्याद गुज्रिने बाहेकका फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय भएको छ ।

बारले बुधबार देशभरका १८ वटा उच्च अदालतमा विरोध सभा गर्ने घोषणा गरेको छ । बिहीबार र शुक्रबार विरोधका कार्यक्रमलाई निरन्तरता दिने बारले बताएको छ । बारले मंसिर २४ देखि तीन दिन पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन हाललाई स्थगित गरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७