निगमका पाइलटले ड्युटी सकियो भन्दै रुकुम उडेको जहाज नेपालगञ्जमै गराए अवतरण


७ मंसिर २०७८, मंगलवार
nac plane BO4GQrqIMB

नेपालगञ्ज, ७ मंसिर । नेपाल एयरलाइन्सको एक पाइलटले आफ्नो ड्यूटीको समय सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्वीन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, ‘हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।’ जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पु¥याइएन ।

पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराए । लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगञ्ज अवतरण गरिएको रहेछ ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । निगम स्रोतले भन्यो, ‘पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।’

यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताएका छन् । ‘सो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नुको कारण पाइलटको ड्यूटी आवर र मौसम पनि थियो’, उनले भने । निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७