मलाई निर्विरोध छाड्न पनि सकिन्छ, चुनौती दिन पनि पाइन्छ : ओली


७ मंसिर २०७८, मंगलवार
kp sharma oli bhim rawal

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूलाई चुनौती नदिएको बरु सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले बढी खट्दा थकाइ लाग्यो होला भन्ने ठानेर नेता रावलले ‘म अध्यक्षमा उठ्छु’ भनेको बताए । उनले भने, ‘रावलजीले मलाई चुनौती दिएको होइन, बढी खट्दा थकाइ लाग्यो कि माया लागेर म उठ्छु भनेको हो । उहाँको सम्मानजनक सुझावबाट म प्रभावित छु ।’ उनले आफू अध्यक्षमा नउठोस् भन्ने पार्टी बाहिर पनि रहेकोले सामान्य रुपमा लिएको बताएका छन् ।

उनले भने, ‘रावलजीले मप्रति स्नेहभाव देखाउनु भएको छ ।’ उपाध्यक्ष रावलले आइतबार एमाले महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । ‘मलाई निर्विरोध छाड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ’, रावलको सोही घोषणालाई लक्षित गर्दै ओलीले थपे, ‘एमालेमा जोर जुलुम करकाप हुँदैन, उठ्न पाइन्छ ।’

चुनौती र निर्विरोध लोकतन्त्रकै अभ्यास भएको भन्दै ओलीले आफूले कसैलाई नउठून् भनेर दबाब नदिने बताए । ‘मैले उठ्ने नउठ्ने कुनै निर्णय गरेको छैन, उठ्ने भएँ भने कसैलाई नउठ्नु भन्दिनँ’, उनले थपे, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव दुवै या त निर्विरोध हुन्छ या त धेरै मत ल्याएर जित्छ ।’ प्रतिनिधिले मन पराएकोलाई परिणाम आएपछि मन पराउने पनि उनले खुलाए ।

अरूको हकमा पनि पार्टीभित्र एकता रहेको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गर्न नसकिने बताए । ‘सहमति भए राम्रो तर सहमति हुँदैन भने म मिल भनेर करकाप गर्दिनँ’, ओलीले थपे, ‘अरूको अवसरमा म भाँजो हाल्दिनँ । म निर्वाचित भएँ भने सबैको अध्यक्षको व्यवहार गर्छु, यो मन परेको मन नपरेको भन्ने छैन, मेरा लागि सबै समान ।’

माधव नेपाललाई ओलीको कटाक्ष : चोइटिएर एमाले नेता घटेका छैनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका दावी गरेका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरूसँग उनले भने । आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७