भारतले बाटो नदिएपछि चार दिनको कष्टपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली


८ मंसिर २०७८, बुधबार
janagana

दार्चुला, ८ मंसिर । भारतले आफ्नो बाटो प्रयोग गर्न नदिएपछि जनगणना टोली आफ्नै नेपाली भूमिबाटै चार दिन जोखिम र कष्टपूर्ण पैदल यात्रा गर्दै दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको छ ।

जनगणना टोली सोमबार दिउँसो छाङरु पुगेको जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले जानकारी दिए । ‘जनगणना टोली सोमबार छाङरु पुगेको खबर प्राप्त भएको छ । त्यसपछि सम्पर्क हुन सकेको छैन’, उनले भने, ‘जनगणनाको काम शुरु भइसकेको छ, करिब दुई दिनमा काम सकिन्छ ।’

गत कात्तिक २५ गते देशभर जनगणना थालिएको हो । तर दार्चुलाको व्याँस गाउँपालिका–१ का तिंकर र छाङरुमा भारतीय प्रशासनले जनगणना टोलीलाई त्यहाँ जान उसको भूमिमा पर्ने सहज सडक प्रयोगको अनुमति नदिँदा ढिलाइ भएको हो । जिल्ला प्रशासन कार्यालय (दार्चुला) ले कात्तिक २५ र ३० गते जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन भारतको धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर भारतीय प्रशासनले बाटो बिग्रिएको बहाना बनाउँदै अनुमति दिएन । अन्य मानिसलाई भने त्यो बाटो हिँड्न दिएको थियो ।

त्यसपछि शुक्रबार सदरमुकाम खलंगाबाट जनगणना टोली आफ्नै भूमिको नेपाली बाटोबाट छाङरु र तिंकरका लागि प्रस्थान गरेको थियो । करिब ४ दिनको जोखिमपूर्ण पैदल यात्रापछि सोमबार मात्रै टोलीले छाङरु पुगेको हो । तिंकरबासी चिसो छल्न खलंगा झरेपछि जनगणनामा चुनौती थपिएको छ । व्याँस गाउँपालिका–१ तिंकरबासी घर छाडेर चिसो छल्न खलंगा झरेको वडा सचिव विनोद बुढाथोकीले बताए ।

‘तिंकरबासीका घरमा ताल्चा लागेका छन् । पशुचौपाया लिएर चिसो छल्न त्यहाँका बासिन्दा आइतबार नै हिँडेका थिए’, उनले भने, ‘बुढापाकाहरू गाडी चढेर भारतको बाटो भएर खलंगा पुगिसकेका छन्, पशुचौपाया लिएर केही बाटोमा छन् ।’ छाङरु र तिंकरबासी हिँउदका ६ महिना खलंगा झर्ने गर्छन् । जनगणना टोली छाङरु र तिंकरमा खटिएको छ, तर तिंकरबासी भने खलंगा झरेकाले जनगणना कसरी गर्ने भन्ने द्विविधा थपिएको छ ।

‘जनगणना टोलीसँग बाटोमा भेट भयो भने त त्यहीँ जनगणना हुन्छ। तर भेट भएन भने गाह«ो छ’, वडा सचिव बुढाथोकीले भने, ‘छाङरुवासी १०-१२ दिन ढिलो गरेर खलंगा झर्छन, जाडो छल्न खलंगाा झर्ने र गर्मी छल्न तिंकर चढ्ने चलन भएको छ ।’ उनका अनुसार छाङरुबाट तिंकर करिब ११ किलोमिटरको दूरीमा छ । तिंकरमा ४० परिवारको बसोबास छ । तीन सदस्यीय जनगणना टोलीमा रहेका गणक बाटो कठिन हुनाले हिँड्न नसकेर दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका थिए ।

जनगणना कार्यालय (दार्चुला) का सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए । गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोग मात्रै छाङरु गएका थिए ।

तिंकर र छाङरुमा ११३ परिवारको बसोबास छ । तिंकर र छाङरुमा पहिलो चरणको सुपरीवेक्षण मात्रै हुन सकेको छ । तिंकरवासीको बसाइँसराइले जनगणनामा केही प्रभाव नपार्ने जनगणना कार्यालय (दार्चुला) का प्रमुख पाण्डे बताउँछन् । ‘खलंगा र छाङरु, तिंकरमा गरेर दोहोरो बस्ती छ । त्यहाँ भएका मानिसलाई खलंगामा को को बस्छन् भन्ने थाहा हुन्छ । एकै घरका मानिस हुन्छन्’, उनले भने, ‘खलंगाका मानिसको महाकाली नगरपालिका–४ मै गणना हुन्छ, तिंकर र छाङरु रहेका मानिसको त्यही गणना हुन्छ ।’ जनगणनामा कोही नछुट्ने उनले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७