म ओलीलाई गाली गलौंच गर्दिन : माधव नेपाल


८ मंसिर २०७८, बुधबार
Madhav Nepal

जनकपुर, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश–२ को कार्यालय तथा धनुषा जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको टिप्पणी गरे ।

उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको पनि उनको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘केपी ओली अत्यन्तै छटपटिएर अन्टसन्ट बोलिरहेका छन् । उनलाई अन्टसन्ट बोल्न दिनुस् मलाई बोल्नु छैन । गाली गर्न दिनुस्, म गाली गलौज गर्दिन । किनभने उनले आफ्नो चरित्र देखाइरहनु भएको छ । हामी राम्रो चरित्र संस्कार देखाउँछौँ ।’ उनले सात वटा प्रदेशमध्ये दुई वटा प्रदेशमा पार्टी नेतृत्वको सरकार रहेको भन्दै संघीय सरकारमा समेत बलियो रुपमा उपस्थिति रहेको बताए ।

उनले प्रदेश–२ मा समेत ओलीको एमाले पार्टी भन्दा आफ्नो पार्टी अब्बल रहेको बताउँदै नेपालले ओलीलाई सूर्य चिन्हको धाक नलगाउन पनि चेतावनी दिए । ‘अब सूर्य चिन्हको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ’, नेपालले भने, ‘अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’

‘प्रदेश–२ मा हामी एमालेभन्दा कयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ–आगामी निर्वाचनमा ओली नेतृत्वको एमाले चोइटिएर जान्छ ।’ उनले सत्य र न्यायको सन्देशका लागि एकीकृत समाजवादी अगाडि बढिसकेको समेत बताए । उनले मंसिर १५ देखि जनताको घरघर पुग्ने अभियान सञ्चालन गर्ने योजना रहेको पनि जानकारी समेत दिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१० का प्रत्यासी उम्मेदवार प्रशान्त कर्ण, रुपेश कर्णलगायत दर्जनौं युवाहरु पार्टी प्रवेश समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७