‘उद्घाटनमा पाँच लाख उपस्थित गराउँछौँ’


८ मंसिर २०७८, बुधबार
Surendra Pandey

सुरेन्द्र पाण्डे
संयोजक, जनपरिचालन कमिटी

नेकपा एमालेको यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनको तयारी तीब्र गतिका साथ अघि बढिरहेका छ । यतिबेला महाधिवेशन उद्घाटन स्थल चितवनको नारायणी किनार र बन्दसत्र स्थल सौराहा झकिझकाउ गराउने कार्य पनि अघि बढिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक एवं जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेसँग अहिले भैरहेको तयारीलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः


नेकपा एमालेको १० गते चितवनमा उद्घाटन हुने १० औँ राष्ट्रिय महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?
– नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन मंसिर १० गते दिउँसो १२ बजे नारायणघाटमा हुँदैछ । त्यसका लागि प्राविधिक टोली आजबाट मञ्च निर्माण र सजावटका लागि चितवन आइसकेको छ । मञ्च निर्माण र सजावटको काम आजबाट प्रारम्भ हुन्छ ।

मञ्च निर्माण र सजावटका लागि अनुगमन–निरीक्षण गर्नेलगायतको काम यस अघि नै पटक–पटक भैसकेको छ । मञ्च अगाडिको भाग बाढीले विगारेका कारण पुर्नेलगायतको काम भैरहेको छ । मञ्च वरिपरीको धेरै भागमा हरियो दूवोसहितको मैदान छ । हामी त्यही स्थानलाई थप व्यवस्थापन गर्ने कार्यलाई तिव्रताका साथ अघि बढाइरहेका छौँ ।

तपाईं मूल व्यवस्थापन समितिको सहसंयोजक र जनपरिचालन कमिटीको संयोजक हुनुहन्छ । जनपरिचालनको सन्दर्भमा के भइरहेको छ ?
– हामीले यस पटक महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस उपस्थिति गराउने भनेका छौँ । त्यसका लागि लुम्बिनी प्रदेशबाट कम्तीमा ७५ हजारको उपस्थिति गराउने भनेका छौँ । पोखरा, नवलपुर र चितवनले जनपरिचालनको विस्तृत योजना बनाएर चितवनले कम्तीमा ७५ हजार र नवलपुरले ५० हजारभन्दा बढी उपस्थिति गराउने भनेका छौँ । त्यसका लागि वडातहदेखि नगर, जिल्ला, प्रदेशस्तरसम्म नै जनपरिचालन कमिटी बनाएर कमरेडहरू खटिरहनु भएको छ ।

पाँच लाख मानिस उतार्ने भन्नुभएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न के–के तयारी गर्नुभएको छ ?
-खुलासभालाई व्यवस्थित गर्न १० गते हामीले मुख्य गरेर ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर योजना बनाएका छौँ । त्यो दिन पश्चिमतर्फबाट आउने सवारीलाई नारायणी किनारको पारीपट्टी गैँडाकोट क्षेत्रमा व्यवस्थापन गर्दैछौँ । त्यसैगरी पोखरा र काठमाडौँतिरबाट आउने सवारीलाई पुरानो बसपार्क र दियालो वंगला क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरेका छौँ । त्यसै पूर्वतिरबाट आउने सवारीलाई पारस बसपार्कलगायतको क्षेत्रमा व्यवस्थापन गर्ने भनेका छौं ।

नारायणी चौरमा हुने उद्घाटन सत्रमा आउन र फर्किन आम जनसमुदायलाई सहज होस् भन्ने हेतुले सेटबाट जानकारी गराउने, स्वयंसेवक खटाउनेलगायतको तयारी गरेका छौं । उद्घाटनस्थलको चौर लामो भएको हुँदा उद्घाटन सत्रलाई भव्य र व्यवस्थित बनाउन मञ्चबाट पछाडितर्फ बस्ने जनसमुदायलाई सजिलै देख्न र सुन्नका लागि ठाउँ–ठाउँमा डिस्प्लेको व्यवस्थापन गर्ने गरी त्यसको प्राविधिक तयारी गरिरहेका छौँ । चितवनमा उद्घाटन भएको दृष्य गैँडाकोट, चितवन हुँदै जनकपुर र बुटवलसम्म पनि डिस्प्लेमार्फत देखाउन सकिन्छ कि भनेर त्यसको पनि प्राविधिक तयारीका बारेमा हामी प्रयास गरिरहेका छौँ ।

पाँच लाख मानिस उतार्ने भनेपछि त्यहाँ वातावरणीय प्रभावको सन्दर्भ पनि उठ्ला । त्यहाँ सरसफाई गर्नेलगायतका बारेमा केही योजना बनाउनु भएको छ ?
पाँच हजार स्वयंसेवकको व्यवस्थापन गरेका छौँ । हामीले चितवनका सुरक्षा निकायसँग समन्वय गरेका छौँ । उहाँहरूसँग समन्वय गरेर हाम्रा स्वयंसेवकले महाधिवेशनस्थललाई व्यवस्थित गर्ने, सुरक्षाको प्रत्याभूति दिने, सरसफाई गर्ने जस्ता काम गर्ने छन् । यो पटक हामीले पोष्टर, पर्चा, पम्प्लेटलाई निषेध गरेका छौँ । त्यसकारण पनि वातवरणीय प्रदूषण कम गर्न केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

उद्घाटन सत्रलाई थप भव्य र व्यवस्थित बनाउन अन्य केही गर्नुभएको छ ?
-महाधिवेशनलाई भव्य र सुन्दर बनाउन चितवन, गैँडाकोट हुँदै तनहुँसम्मका विभिन्न ठाउँमा स्वागतद्वार बनाउने विभिन्न प्रकारका व्यानरहरू राख्ने जस्ता कार्यलाई दू्रत गतिमा अघि बढाएका छौँ । त्यसका लागि कतै नछुटोस् र नदोहोरियोस् भन्ने हेतुले हामीले विभिन्न संगठनलाई ठाउँ तोक्ने जिम्मेवारी दिएका छौँ । चितवन बाहेकका स्थानमा हामीले स्वागतद्वार बनाउने, व्यानर राख्ने कार्य गर्दै आएका छौँ ।
त्यस्तै चितवनको पहिचान गैँडाले उठेर झण्डा समाएको मस्कट सार्वजनिक गरिसकेका छौँ । त्यसले विश्वभरि नै नेपालको राष्ट्रिय शानको रुपमा रहेको एकसिंगे गैँडालाई प्रचार गर्न थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

बुटवल–नारायणगढ खण्डको बाटो निर्माणका कारण आवत–जावतमा केही कठिनाई हुने भनिएको छ । त्यसको व्यवस्थापनका लागि के गरिरहनु भएको छ ?
-अहिले दाउन्ने क्षेत्रको बाटो निर्माणको चरणमा छ । निर्माणका कारण बुटवल–नारायणगढ क्षेत्रको बाटोमा धेरै धुलो र खाल्टाखुल्टीले गर्दा आवत–जावतमा केही कठिनाई हुने हुँदा हामीले सम्वन्धित निकायलाई खाल्टाखुल्टी पुर्न र धुलो कम गर्न पानी हाल्न अनुरोध गरेका छौँ । त्यसका लागि म आफैले पनि पहल गरिरहेको छु ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भयो । महाधिवेशनमा यसको सन्देश दिन केही योजना बनाउनु भएको छ ?
-नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएको हिसावले महाधिवेशनमा ७२ जना कलाकारले आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ । गीत–संगीतको माध्ययमबाट सबै जाति–भाषा, संस्कृति र परम्पराको पहिचान झल्काउने खालको प्रस्तुति गर्ने प्रयास गरेका छौँ । स्थानीय थारु समुदायको प्रस्तुतिको पनि हामीले बन्दोबस्त गरेका छौँ । मंसीर ९ गते हामीले चितवनमा करीब पाँच हजार स्वयंसेवकको प्रदर्शनी गर्ने तयारी गरेका छौँ । स्वयंसेवकलाई प्रशिक्षणको समेत व्यवस्था गरेका छौँ ।


बन्दसत्रको तयारीचाहीँ के भैरहेको छ ?
-मंसीर १० गतेको उद्घाटनपछि त्यो साँझसम्ममा सबै प्रतिनिधि सौराहामा पुग्नुहुनेछ । उहाँहरूलाई खानपान र बस्नका लागि हामीले होटलको व्यवस्थापन गरिसकेका छौँ । बन्दसत्र हामीले सौराहामा गर्ने तयारी गरेका छौँ । बन्दसत्रका लागि तीन वटा हल रहेका छन् । मतदान कार्य हाम्रो त्यहीँ हुनेछ ।

अहिले यी सबै कार्यका लागि सौराहा झकिझकाउ गर्र्नेे काम भैरहेको छ । बन्दसत्र हलभित्र विभिन्न खाले प्रदर्शनीका लागि पनि हामीले व्यवस्थापन गरेका छौँ । यो पटक हामीले नयाँ प्रयोग अर्थात भोटिङ मेसिनबाट मतदान गर्ने भएका छौँ । त्यसका लागि प्रतिनिधिलाई भोटिङका लागि प्रशिक्षण दिने लगायतका काम उद्घाटनपछि मतदान अघिसम्म गर्ने भनेका छौँ । हामीले कोभिड महामारीको अन्त्य नभएको अवस्थामा प्रतिनिधि र उपस्थित सबैलाई मास्क अनिवार्य गरेका छौँ । त्योसँगै स्वास्थ्य मापदण्ड पनि सकेसम्म पालना गर्न पटक–पटक माइकमार्फत आग्रह गर्ने छौँ ।

निर्वाचन प्रक्रियाको तयारी बारेमा नि ?
– मंसीर ११ गते बिहान सम्भवतः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । सुरुमा अध्यक्षको मन्तव्यपछि सम्भवतः हामी अध्यक्ष मण्डल गठन गरेर उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउने छौँ । त्योसँगै भोटिङ मेसिनमा तालिम गराउने व्यवस्था पनि गर्ने भनेका छौँ । साँझसम्ममा दावी–विरोध फिर्ता लिने, सांस्कृतिका कार्यक्रम गर्ने जस्ता तालिका रहनेछन् । १२ गते विहान ८ बजेबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ । ११ गते साँझको खाना सबै प्रतिनिधिलाई अध्यक्षको तर्फबाट आयोजना हुने भएको छ ।

१२ गतेसम्म महाधिवेशनको सम्पूर्ण औपचारिक काम सम्पन्न हुनेछ । प्रतिनिधिका लागि हामीले १२ गते बेलुकासम्मका लागि खाने–बस्ने व्यवस्थापन गरेका छौँ । १३ गते विहान नयाँ नेतृत्व छनोटसँगै सबै प्रतिनिधिलाई विदाई गर्ने तयारी भएको छ । १३ गते नै हामीले महाधिवेशनमा खट्ने स्वयंसेवक, कलाकारलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ । पर्यटनका लागि कोभिडका कारण केही सुस्ताएको सौराहाको चहल–पहल बढ्ने हामीले अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७