कांग्रेसका सुर्खेत जिल्ला सभापति र दुई पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित


८ मंसिर २०७८, बुधबार
Shivaraj joshi khadga bashyal

सुर्खेत, ८ मंसिर । नेपाली कांग्रेसमा संस्थापन इतर मानिएका सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी सुर्खेत क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
सुर्खेतमा संस्थापन पक्षले शतप्रतिशत नतिजा निकालेको छ । महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खसेको ८७४ मध्ये उनले ७३६ मत पाएका छन् । यद्यपि, कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
दुई पूर्वमन्त्री पनि महाधिवेशन प्रतिनिधिमा हारे
सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत–२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाएका छन् । केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औं नम्बरमा आए । त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाए । उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन् । विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ । पूर्वमन्त्री जोशी र बस्याल दुवै संस्थापन इतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७