उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ : प्रधानमन्त्री


९ मंसिर २०७८, बिहीबार
deuwa 1

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ रहेको बताएका छन् । सातौं उद्योग दिवसका अवसरमा सम्पूर्ण शुभकामना व्यक्त गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको समग्र समुन्नति सम्भव हुने बताए ।

प्रधानमन्त्री देउवाले उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेको बताए । मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गरे ।

प्रधानमन्त्री देउवाले मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब १२.८ प्रतिशत र उत्पादनमूलक उद्योगको पाँच दशमलव ०८ प्रतिशत योगदान रहेको उद्योग व्यवसाय क्षेत्रबाट मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।

तीव्र औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए । तीनै तहका सरकार र निजी क्षेत्रको समन्वयबाट उद्योग क्षेत्रको विकास र विस्तार हुन सक्दछ भन्ने कुरामा सरकार विश्वस्त रहेको उनले उल्लेख गरे । ‘स्वेदशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७