कार्यभार सम्हालेको १२ घण्टा नबित्दै स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा


९ मंसिर २०७८, बिहीबार
Swiden PM L31Jk8D4WT

काठमाडौं, ९ मंसिर । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मग्डालेना एन्द्रेसनले बुधबार कार्यभार सम्हालेको १२ घण्टा पनि नपुग्दै राजीनामा दिएकी छिन् । दुई पार्टीको गठबन्धनमा प्रधानमन्त्री बनेकी उनले ग्रिन पार्टी गठबन्धनबाट बाहिरिएसँगै राजीनामा दिएकी हुन् । यससँगै स्वीडेनमा राजनीतिक अनिश्चितता बढेको छ ।

एन्द्रेसनले सभामुखले पुनः आफूलाई एकल पार्टीको सरकार प्रमुखको रुपमा नियुक्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । स्वीडेनमा अन्य पार्टीबाट बलियो समर्थन पाएको पार्टीको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ । यसअघि गठबन्धनले ल्याएको बजेट संसदमा अस्वीकृत भएको थियो । यससँगै ग्रिन पार्टीले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । स्वीडेनमा बजेटमा सहमति जुटाउन नसकेका ग्रिन पार्टी, सेन्ट्रल पार्टी र लेफ्ट पार्टीले पनि प्रधानमन्त्रीमा एन्द्रेसनलाई सहयोग गर्ने बताएका छन् ।

बजेटमा भने उनीहरुको बीचमा सहमति जुट्न सकेको थिएन । जसको कारण विपक्षीले ल्याएको खर्चको प्रस्ताव पारित भएको छ । स्वीडेनमा अब नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ । संसद्ले एन्द्रेसनलाई नै निरन्तरता दिन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७